लोकतन्त्रको छायाँमा राजा खोज्ने मनोविज्ञान किन :गजेन्द्र घर्ती
कतार:जुम्लाका केही आदरणीय मतदाताज्यूहरू,थोरै समय निकालेर यो लेख पढिदिनुहोला,सायद घैटोमा थोरै घाम लाग्ला।लोकतन्त्रले दिएको माइक समातेर “लोकतन्त्र चाहिँदैन” भन्नु भनेको छातामुनि बसेर वर्षालाई गाली गर्नुजस्तै हो। जुन व्यवस्थाले बोल्न, लेख्न, गुनासो गर्न र आलोचना गर्न अधिकार दियो, त्यही व्यवस्थालाई असफल ठहर गर्दै “राजा फर्काऊ” भन्नु कति न्यायोचित होला?
नेपालले २०६५ सालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरूले अझै पनि राजसंस्थालाई विकल्पको रूपमा प्रस्तुत गरिरहेका छन्। तर प्रश्न यो हो,समाधान व्यक्ति हो कि प्रणाली?
किन सजिलो लाग्छ राजा?
प्रश्न गर्नुभन्दा आदेश मान्नु सजिलो हुन्छ।
लोकतन्त्रले प्रश्न गर्न सिकाउँछ, जवाफदेहिता खोज्न बाध्य बनाउँछ। तर प्रश्न गर्नु साहसको काम हो। आदेश मान्नु सजिलो। मतदानभन्दा ताली बजाउन सजिलो हुन्छ।
मतदान जिम्मेवारी हो, ताली भावना। जिम्मेवारी बोक्नुभन्दा भावना बोक्न धेरैलाई सजिलो लाग्छ।जिम्मेवारीभन्दा भक्तिभाव हलुका हुन्छ।लोकतन्त्रमा नागरिक पनि जिम्मेवार हुन्छ। राजतन्त्रमा जिम्मेवारी माथि सारेर आफूलाई “भक्त” बनाइन्छ।
लोकतन्त्र बिग्रियो,भन्नेहरूलाई प्रश्न
लोकतन्त्र बिग्रियो भनेर कराउनेहरूलाई सोध्नुस् बिग्रिएको लोकतन्त्रले बोल्न कसरी दियो? सामाजिक सञ्जालमा सरकार, नेता, दल सबैलाई आलोचना गर्न कसले छुट दियो?यदि भोलि राजा फर्कियो भने सबै ठीक हुन्छ भन्ने विश्वास गरिन्छ। तर ठीक नहुने एउटै कुरा हुनेछ: बोल्ने आँट,ईतिहास साक्षी छ,जब शक्ति एउटै हातमा केन्द्रित हुन्छ, आलोचना अपराध बन्छ। जब शक्ति जनतामा बाँडिन्छ, आलोचना अधिकार बन्छ।आज “राजा चाहियो” भन्न पाइरहेका छौं भने त्यो कारण राजा होइन,लोकतन्त्र हो।लोकतन्त्रमा गाली गर्न पाउनु नै,लोकतन्त्र बाँकी छ भन्ने अन्तिम प्रमाण हो।
लोकतन्त्र पूर्ण छैन। भ्रष्टाचार छ, असक्षमता छ, राजनीतिक विकृति छन्। तर समाधान व्यवस्थालाई उल्ट्याउनु होइन,व्यवस्थाभित्रै सुधार खोज्नु हो।
राजा खोज्नु भावनात्मक प्रतिक्रिया हुन सक्छ, तर दिगो समाधान होइन। लोकतन्त्रको छायाँमा बसेर लोकतन्त्रलाई नै दोष दिनुभन्दा, त्यसलाई मजबुत बनाउन पहल गर्नु आजको आवश्यकता हो।जुम्लाका सचेत मतदाताहरू हाे ।तपाईंहरुकाे घाम घैटोमा लागोस् तर त्यो घाम विवेकको होस्, भावनाको मात्र होइन।








