अज्ञात रोगबाट भेडा बाख्रा मर्न थालेपछि पशु स्वास्थ्यकर्मी भेडीगोठमा

मुगु:मुगु जिल्लाका अधिकांश नागरिकको आम्दानी र जीविकोपार्जनको मुख्य स्रोत पशुपालन हो। विशेषगरी सोरुगाउँपालिका वडा नं. १० र ११ का कृषकहरू पुस्तौंदेखि भेडा बाख्रा पालन गर्दै आएका छन्। तर गत पुस र माघ महिनादेखि अज्ञात रोगका कारण भेडा–बाख्रा मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।

किसानहरूका अनुसार भेडा बाख्राको टाउको र घाँटी सुन्निने, ऊन झर्ने, पखाला लाग्ने, उकालो नहिँड्ने, अल्छी हुनेजस्ता लक्षण देखिएपछि एक दुई दिनमै मर्ने गरेका छन्। स्थानीय कृषक पूर्णबहादुर मल्लले भने, “२,३ पुस्तादेखि भेडापालन गर्दै आएका थियौं। यही पेशाबाट घरखर्च चलाउँदै आएका थियौं। ६० वटा भेडा थिए, तर अहिले २५–३० मात्र बाँकी छन्। पुस माघदेखि प्रत्येक गोठबाट २०,३० वटासम्म मरे। घरेलु औषधि प्रयोग गर्‍यौं, एग्रोभेटबाट औषधि ल्याएर उपचार पनि गर्‍यौं, तर सुधार भएन।

उनका अनुसार सुरुआतमा कुनै निकायबाट उपचारको पहल भएको थिएन। सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मात्र पालिका, जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय गमगढी र प्रदेश प्रयोगशालाबाट टोली खटिएको हो। “अब बाँकी रहेका भेडा बाख्रा बचाउन सकिन्छ कि भन्ने आशा जागेको छ,” मल्लले बताए।

सोरुगाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले समाचार सार्वजनिक भएपछि मात्र घटनाबारे औपचारिक जानकारी प्राप्त भएको बताए। त्यसपछि पालिकाको पशु स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पुगेर औषधि वितरण र उपचार गरिरहेको उनले जानकारी दिए। साथै जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय गमगढी र संघीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पनि प्राविधिक टोली खटिएको छ।

प्रदेश प्रयोगशाला, पालिका, जिल्ला पशु अस्पताल तथा पत्रकारसहित आठ जनाको टोलीले प्रभावित क्षेत्रका ८ ,९ जना कृषकसँग छलफल गर्दा १५० भन्दा बढी भेडा–बाख्रा मरेको पाइएको छ। प्रारम्भिक अवलोकनका आधारमा आहाराको कमी, गोठ व्यवस्थापनको अभाव, अत्यधिक चिसोका कारण विशेषगरी साना पाठापाठी बढी प्रभावित भएको अनुमान गरिएको छ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाका अनुसार तत्कालका लागि एक दिने घुम्ती पशु स्वास्थ्य सेवा सञ्चालन गरी औषधि वितरण गरिएको छ। “हालसम्म महामारीको अवस्था देखिएको छैन। रोग पहिचानका लागि रगत, दिसा तथा मरेका भेडा बाख्राका विभिन्न अंगको नमुना प्रयोगशालामा पठाइएको छ। रिपोर्ट आएपछि थप उपचार योजना बनाइनेछ,” उनले बताए।

संघीय सरकार अन्तर्गत कर्णाली प्रदेशमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा. लोकेन्द्र न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमा रगतका कीरा, आहाराको कमी, बाह्य परजीवी तथा अनुमानका भरमा औषधि प्रयोगजस्ता समस्या देखिएका छन्। “यकिन रोग पत्ता लगाउन नमुना परीक्षण भइरहेको छ। हालसम्म महामारीको संकेत देखिएको छैन,” उनले स्पष्ट पारे।

सोरुगाउँपालिका १० र ११ का कृषकहरू अहिले बाँकी रहेका भेडा बाख्रा जोगाउने आशामा सम्बन्धित निकायको पहलको प्रतीक्षा गरिरहेका छन्।

सम्बन्धित समाचार