नेपाली काँग्रेस जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीप बहादुर शाहीको प्रतिज्ञापत्र सार्वजनिक

जुम्ला: प्रतिनिधि सभा निर्वाचनका लागि दीप बहादुर शाही ले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै समुन्नत जुम्ला, सुखी जुम्लाबासी” लाई मुख्य नारा बनाएका छन्। नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार बनेका शाहीले जुम्लाको समग्र विकास, सुशासन र समृद्धिका लागि स्पष्ट कार्ययोजना अघि सारेका हुन्।
प्रतिज्ञापत्र सार्वजनिक गर्दै शाहीले लोकतान्त्रिक आन्दोलनको इतिहास, त्याग र संघर्षको निरन्तरतासँगै अब जुम्लालाई प्रविधिमैत्री,पारदर्शी र जनसहभागिता मूलक शासन प्रणालीतर्फ अघि बढाउने प्रतिबद्धता जनाए। उनले पार्टीका सभापति गगन कुमार थापा को नेतृत्वमा निर्माण हुने भावी सरकारमार्फत जुम्लाको आवाज संघीय संसदमा सशक्त रूपमा उठाउने बताए।

शिक्षा क्षेत्रमा प्राथमिकता

शाहीले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि पर्याप्त भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, प्राविधिक तथा नैतिक शिक्षामा जोड दिने योजना अघि सारेका छन्। विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी मिलान गर्ने व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ।त्यस्तै,कर्णाली प्राविधिक शिक्षालयलाई प्राविधिक विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न पहल गर्ने, सिंजा बहुमुखी क्याम्पसको शैक्षिक स्तर उकास्न आवश्यक कार्यक्रम थप गर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा जडीबुटी अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने घोषणा गरेका छन्।
त्यस्तै स्वास्थ्य क्षेत्रतर्फ उनले “स्वस्थ जुम्लाबासी, समुन्नत जुम्ला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्। उक्त कार्यक्रममार्फत घरघरमै वृद्धवृद्धा, बालबालिका र सुत्केरी आमाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा जनस्वास्थ्य सेवा उपलब्ध गराइने बताइएको छ।

यसका साथै अति विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने तथा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने उनको योजना छ।त्यस्तै शाहीले सडक,शिक्षा, स्वास्थ्य, कृषि, स्याउ र जडीबुटीको बजारीकरणलाई जुम्लाको आत्मनिर्भरतासँग जोड्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न विशेष पहल गर्ने बताए।

काठमाडौँबाट मात्र नभई जुम्लाको माटो र जनताको वास्तविक आवश्यकताका आधारमा नीति निर्माण गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।उम्मेदवार शाहीले व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि उठेर सामूहिक संकल्पका साथ अघि बढ्ने बताउँदै जुम्लावासीसँग सहयोग र समर्थनको अपिल गरेका छन।