मानसिक स्वास्थ्य दिवस : दश वर्षमा ५० प्रतिशतले बढ्यो आत्महत्याको दर
मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक तथा उपचारात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ। ‘आत्महत्या’ लाई पनि मानसिक स्वास्थ्य परिणामको रूपमा लिँदै यो दिनमा ‘आत्महत्या’लाई निरुत्साहित गर्ने विभिन्न कार्यक्रमको आयोजना हुने गरेका छन्।
यसै सन्दर्भमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार पछिल्लो १० वर्षको तथ्याङ्क हेर्दा ‘आत्महत्या’ गर्नेहरूको दर ५० प्रतिशतले वृद्धि भएको पाइएको छ। नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै कार्यालयले दिएको विवरणमा आर्थिक वर्ष ०७२/०७३ मा देशभरमा कुल चार हजार छ सय ८० जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष ०८१/०८२ मा सात हजार ५५ जनाले ‘आत्महत्या’ गरेका छन्। जुन आर्थिक वर्ष ०७२÷०७३ को तुलनामा ०८१/०८२ मा ५० दशमलव ७१ प्रतिशतले बढी हो।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७३/०७४ मा पाँच हजार एक सय २४ जनाले ‘आत्महत्या’ गरेको तथ्याङ्क छ भने त्यसपछिका वर्षहरूमा क्रमशः पाँच हजार तीन सय १७, पाँच हजार सात सय ५४, छ हजार दुई सय ७९, सात हजार एक सय ४१, छ हजार आठ सय ३०, छ हजार नौ सय ९३ र सात हजार दुई सय २३ जनाले ‘आत्महत्या’ गरेका छन्।
कार्यालय प्रमुख बद्रीराज आचार्यले नेपालमा आत्महत्याको दर वर्षेनी बढ्दै गइरहेको र विशेष गरी किशोर किशोरी र युवा वर्गमा आत्महत्याको दर उच्च रहेको बताए। तथ्याङ्क अनुसार नेपालमा दैनिक सरदर २० जनाले ‘आत्महत्या’ गर्ने गरेको भन्दै उनले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को नतिजा अनुसार छ दशमलव पाँच प्रतिशत वयस्कमा र तीन दशमलव नौ प्रतिशत किशोरकिशोरीहरूमा हालको अवस्थामा ‘आत्महत्या’को सोच रहेको पाइएको बताए। यस्तै सन २००८ को एक सर्वेक्षण अनुसार १४–४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण पनि ‘आत्महत्या’ नै रहेको कार्यालय प्रमुख आचार्यले बताए।
मानसिक स्वास्थ्य समस्याका कारणहरूमा जैविक तत्त्व अन्तर्गत मस्तिष्कमा रासायनिक असन्तुलन, वंशाणु, मस्तिष्कमा हुने चोट र दीर्घकालीन रोगहरू रहेका छन्। जसमा मानव सृजित तथा प्राकृतिक विपद् अन्तर्गत भूकम्प, बाढी, पहिरो, राजनीतिक द्वन्द्व, दुर्घटना तथा मनोसामाजिक तत्त्वहरूमा आत्मसम्मानको कमी, हीनताबोधको भावना, बाल्यकालमा हुने बेवास्ता, अप्रिय घटना, विध्वंशास्तक सामना गर्ने विधि, जुझारुपन, समस्या समाधान गर्ने सीपको कमी लगायत रहेका छन्। यस्तै सामाजिक तत्त्वका रूपमा घरेलु शारीरिक तथा यौनजन्य हिंसा, गरिबी, बेरोजगारी, आप्रवासन, बालविवाह, सामाजिक सञ्जालको अभाव लगायत रहेका छन्।
कार्यालय प्रमुख आचार्यका अनुसार नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी व्यवस्था अन्तर्गत संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य (सन २०१६ देखि २०३० सम्म)मा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्य तथा नसर्ने रोगहरूबाट हुने मृत्युलाई एक तिहाइले कम गर्ने लक्ष्य रहेको छ।
यस्तै नेपालले हस्ताक्षर गरेका महासन्धिहरूमा मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम र पुन स्थापनाको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हुने भनिएको छ। नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना (वि.सं.२०७६ देखि २०८१ सम्म) मा पनि मानसिक स्वास्थ्यको पहुँच सबै तहमा विस्तार गर्दै लैजाने योजना समावेश भएको थियो।
नेपालमा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने जनशक्तिको बारेमा बताउँदै कार्यालय प्रमुख आचार्यले हालको अवस्थामा दुई सय जना मनोचिकित्सक, ३५ जना चिकित्सक मनोविद्, ८५ जना साइक्याट्रिक नर्स, दुई सय जना मनोविद्, आठ सय जना तालिम प्राप्त मनोपरामर्शकर्ता र केही सङ्ख्यामा तालिम प्राप्त मनोसामाजिक कार्यकर्ताहरू रहेको बताए। सबै खालका अस्पतालमा गरी मानसिक स्वास्थ्यको अन्तरङ्ग सेवाका लागि करिब चार सय ४० शय्या, कान्ति बाल अस्पतालमा बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी बहिरङ्ग सेवाका अतिरिक्त अन्तरङ्ग सेवाको पनि सुरुवात भएको उनको भनाइ छ। यस्तै मानसिक बिरामीहरूको उपचारका लागि अति आवश्यक औषधिहरूको सूचिमा छ प्रकारको औषधिहरू थप गरी ११ प्रकारका औषधिहरू प्रयोगमा रहेका पनि कार्यालय प्रमुख आचार्यले बताए।
मानसिक रूपमा स्वस्थ रहनका लागि सक्रिय रहनुपर्ने, बिहान र साँझको हिँडडुलको आनन्द लिनुपर्ने, दैनिक आठ घण्टा सुत्नुपर्ने, स्वस्थ खाना खानुपर्ने, विश्वासिलो व्यक्तिसँग आफ्नो भावनाबारे कुरा गर्ने, आवश्यक परेमा मनोपरामर्शकर्ताको सहयोग लिने लगायतका विधिहरू प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ।थाहा खवरबाट सभार









