राजनीतिक फुटबाट एकता तर्फको रुपाकोट विद्यालयको यात्रा

जुम्लाको हिमागाउँपालिका–५ मा अवस्थित रुपाकोट आधारभूत विद्यालय एक दशकअघि राजनीतिक विभाजनको शिकार बनेको थियो। राजनीतिक दलहरू,नेपाली कांग्रेस र कम्युनिष्टबीचको खटपट विद्यालयकै व्यवस्थापनमा समेटिँदा विद्यालय दुई भागमा विभाजित भयो। यसले न केवल शिक्षक र विद्यार्थीको जीवनलाई असर पु¥यायो, गाउँलेको सामाजिक सम्बन्धमा समेत दरार ल्यायो। तर आज, झन्डै दश वर्षपछि, यो विद्यालय फेरि एकै थलोमा फर्किएको छ र शिक्षा सुधारको उदाहरण बन्न थालेको छ।
राजनीतिले स्कुल टुक्र्यायो
विसं २०७१/०७२ तिर, गाउँको राजनीतिक ध्रुवीकरणले रुपाकोट विद्यालयलाई समेत छोयो। विवादका कारण विद्यालय दुई स्थानमा विभाजित भयो—एक पुरानो स्थान बाजागाडामा र अर्को नयाँ भवन चाखाडाँडामा। अभिभावकहरू समेत दलगत आस्थाका आधारमा विभाजित भए, जसको सिधा असर बालबालिकामा पर्यो। कतिपय विद्यार्थी त छिमेकी गाउँका विद्यालयसम्म जान बाध्य भए। शिक्षकहरू पनि दुवै स्थानमा पालैपालो पठनपाठन गर्न बाध्य भए। एकै जनाले दुई ठाउँमा समय बाँडेर पढाउनु पर्ने अवस्था सिर्जना भयो, जसले कोर्स समयमै सक्नसमेत मुस्किल बनायो।
एकता तर्फको पाइला
विद्यालयमा विवाद सुरु भएदेखि नै स्थानीय प्रशासन, शिक्षा सम्बन्धित निकाय र राजनीतिक दलहरू बीच विभिन्न प्रयास भए। तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले विद्यालय एक बनाउन गाउँमै पुगेर निर्देशनसमेत दिएका थिए। तर निष्कर्ष निस्कन सकेन। विसं २०७६ मा प्रधानाध्यापक शान्ति कुमारी शाहीको नियुक्ति भएपछि विद्यालयलाई एक बनाउने अभियानले गति लियो। उनले स्थानीय सरकार, शिक्षा इकाई र सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै विद्यालयको समस्या समाधानको पहल सुरु गरिन्।
संरचनाको सुधार
विद्यालय पुनः एकिकृत गर्न चाखाडाँडाको स्थानलाई प्राथमिकता दिइयो, किनभने त्यो स्थान राजमार्ग नजिकै र पहुँचमा सहज थियो। यद्यपि, सुरुमा त्यहाँ भौतिक संरचनाको अभाव थियो। एउटै कक्षाकोठा दुई कक्षामा बाँडेर पढाउनु पर्ने अवस्था थियो।
प्रधानाध्यापक शाहीको पहलमा विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई वटा पक्की भवन (प्रत्येक ४ कोठे) प्राप्त ग¥यो। यससँगै पालिकाले विद्यालयको घेरबार निर्माण गरिदिएको छ भने आवश्यक शैक्षिक सामग्रीका लागि स्थानीय सरकार र गैरसरकारी निकायहरू सँग समन्वय गरी सहयोग जुटाइएको छ।
मेलमिलापको बिन्दु
विसं २०७९ मा विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयलाई एक बनाउने निर्णय भयो। त्यसपछि सहकार्यको माहोल निर्माण भए तापनि केही अभिभावकको असमझदारी कायमै रह्यो। तर दशैंको केही अघि, गाउँका सबै पक्ष विद्यालयमा भेला भई सामूहिक रूपमा खाजा खाएर मेलमिलाप गरेका छन्। स्थानीय विकास रोकायाले बताए अनुसार, सबैले गाउँको भलोका लागि अब कुनै फुट नराख्ने कसम खाएका छन्। यो मेलमिलापसँगै गाउँलेहरू अहिले नयाँ विद्यालय व्यवस्थापन समिति अन्तर्गत शिक्षाको बाटोमा एक जुट भएका छन्। समितिको नेतृत्व सौरे रोकायाले गरेका छन्।
शिक्षा केन्द्रको रुपमा उदाउँदै
कुनै समय फुटेको र समस्याग्रस्त मानिएको रुपाकोट विद्यालय अहिले हिमा गाउँपालिकाको शैक्षिक केन्द्र बन्न थालेको छ। यहाँ साक्षरता घोषणा, बालविवाह विरुद्धका कार्यक्रम, गाउँपालिका स्तरीय शैक्षिक मेला लगायतका थुप्रै कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार, “यो विद्यालय स्थायी केन्द्र नजिकै भएकाले आगामी दिनमा नमूना विद्यालयको रूपमा विकास गरिनेछ।
रुपाकोट विद्यालयको कथा केवल एउटा विद्यालयको मात्र होइन—राजनीतिक विवादले कसरी शिक्षा प्रणाली प्रभावित हुन सक्छ, र स्थानीय तहको सहकार्य र पहलले कसरी सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण हो। दश वर्ष लामो फुटपछि आएको एकता अब न केवल शिक्षालाई बलियो बनाउँदैछ, गाउँकै सामाजिक सम्बन्ध र सहकार्यको संस्कृतिलाई पनि पुनस्र्थापित गर्दैछ।








