म माथीको आक्रमण समाचारले उठाएको मुद्दाको पैरवी र प्रतिवद्धता मूल कारण हो : पत्रकार शाही
जुम्ला :आधुनिक महिला जागरण डटकमका अध्यक्ष पत्रकार दिलमाया शाहीले आफु माथिको श्रृङ्खलावद्ध प्रेस सम्मेलन,भौतिक आक्रमण लगायतका देखिएका विषय समाचार लेखिसे कपछि त्यो समाचारले उठाएको मुद्दामाथिको मेरो निरन्तर पैरवी र प्रतिवद्धता नै मूल कारण भएको बताइन ।उनले शुक्रबार महिला जागरणको कार्यालयमा पत्रकार भेटघाट मार्फत यस्तो बताएकी हुन।
शाहीले हाम्रो समाजमा गल्ती कमजोरी औंल्याएर समाचार लेखिँदा आफूलाई सुधार्नका लागि पत्रकारिताले दिएको अवसरको रुपमा नलिई अवरोध ठान्ने प्रवृत्ति हरेको बताइन ।उनकाअनुसार त्यो प्रवृत्तिलाई भ्रष्ट सामाजिक संरचनाले साथ दिइरहेको छ । म पत्रकारितालाई एक पवित्र सामाजिक सेवाको रुपमा लिन्छु । पत्रकारितामा मैले समाचार लेख्दा पार्टी प्रतिवद्धता होइन, आम नागरिकको हितलाई प्राथमिकतामा राख्दै आएको बताइन ।
त्यस्तै पत्रकार शाहीले जुम्लामा मौलाएको भ्रष्टाचार व्यभिचारीहरुको अराजकता हदभन्दा बढी रहेको बताइन ।उनले भनिन, यसबेला पनि नबोली, नलेखी मूर्दाशान्तिका साथ म बस्न नसकेको सही साँचो हो । म यसलाई समाजमा भइरहने खराब र असलका बिचमा हुने अन्तरविरोधका रुपमा लिएको छु ।
म समाजको विभिन्न आयाममा नेतृत्व गरिरहेका जुनसुकै वर्गका मानिसहरु असल होउन्, सुशासनयुक्त र समृद्ध समाज बनोस् भन्नका लागि समाचार लेख्छु, भ्रष्टाचार, व्यभिचार, अन्याय र अत्याचारका विरुद्ध निरन्तर लड्नु र उत्पीडित महिला, बालवालिका र समाजका पक्षमा आफूलाई उभ्याउनु आफ्नो कर्तव्य रहेको बताए । महिला जागरण डटकमका सम्पादक तथा पत्रकार दिलमाया शाहीले जुम्ला जिल्लामा देखिएको कुशासनका विरुद्ध निरन्तर दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता बताइन ।
विहिवार खलंगामा आफूमाथि भईरहेका आक्रमणवारे पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार शाहीले जुम्लामा कुशासनका विरुद्ध दृढतापूर्वक आवाज उठाईरहने प्रतिबद्धता जनाउनु भएको हो ।पत्रकार सम्मेलनमा पत्रकार शाहीले २ पृष्ठ लामो प्रेश विज्ञप्ति समेत सार्वजनिक गर्दै विशेषगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूमाथि समाचार लेखेकै कारण निरन्तर आक्रमण गरिरहेको बताइन ।
‘म एक मुट्ठी साहास र एक थोपा रगत रहुन्जेल कुशासनका विरुद्ध गर्जिरहने र मेरो कलम थप तिखो बनाउने दाबी छ । यसै पत्रकार भेटघाट मार्फत प्रतिवद्धता जाहेर गर्दछु’ पत्रकार शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार शाहीले आफूले शिक्षा, राजनीति, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सयौं समाचारहरु लेखेको बताउदै सर्वसाधारणहरुले प्रशंसा गरेपनि केही निश्चित शक्ति समूह आफ्ना विरुद्ध श्रृङ्खलावद्ध रुपमा लागेको खुलासा गरिन ।
पत्रकार शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘मेरो विरुद्धको श्रृङ्खलावद्ध आक्रमणको पछिल्लो कडीका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको २०८२ वैशाख १४ गतेको पत्रकार सम्मेलन र त्यसपछि जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरिएको साइबर क्राइमको मुद्दा हो । यो किन ? मेरो र आम सरोकारको पत्रकारिता विरुद्ध योजनावद्ध, सुनियोजित आक्रमण हो भन्ने कुरा प्रष्ट पार्न चाहन्छु ।’
पत्रकार शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारले नामै तोकेर दिलमाया शाहीले पाँच लाख मागेको र त्यो नदिएपछि श्रृङ्खलावद्ध प्रतिष्ठान विरुद्ध समाचारबाट आक्रमण गरेको भनेर दिएको अभिव्यक्ति झुटो कपोकल्पीत र आफनो गलत कार्य लुकाउन गरिएको प्रचारवाजी भएको विज्ञप्तिमा उल्लेख गरेकी छन । पत्रकार शाहीले यस विषयमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष नेत्र बहादुर शाहीले नै खण्डन गरिसक्नु भएको पत्रकार सम्मेलनमा जानकारी दिइन ।
पत्रकार शाहीले आफुले संञ्चालन गर्दै आएकको महिला जागरण अनलाईनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संग कुनै पनि आर्थिक कारोबार आफ्नो मिडियालाई नगरेको प्रष्ट परेकी छन । आफूले प्रतिष्ठानका डाक्टरले बालबालिकाको हितमा औषधी उपचार नगरेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा संस्थापकहरुलाई अपमान गरिएको, प्रतिष्ठानका कर्मचारी आन्दोलनको न्यायिक निरुपणका निम्ति समाचार प्रसारण गरेको, लोकसेवा मार्फत् स्थायी कर्मचारीको प्रक्रिया सुरु गरिसकेपछि पदाधिकारीको पदावधि सकिंदै गर्दा सेटिङमा करारमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको जस्ता समाचारहरु लेखेका कारण आफूमाथि आक्रमण भएको विज्ञप्तिमा लेखेकी छन ।
विज्ञप्तिमा भनिएको छ ‘यी कुनै पनि समाचारहरु तथ्यको कसीमा जाँच गर्दा अपूर्ण र कपोल्कल्पित ठहरिएका छैनन्, बरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई सच्चाउनका लागि यी जीवनबुटी थिए, उल्टै ममाथि समाचारकै कारण अनेकौं जोड, कोणबाट बदनाम गर्ने कोसिस गरिएको छ ।
पत्रकार शाहीले पत्रकार सम्मेलनमा आफुमाथि भईरहेका निरन्तर आक्रमणको घोर निन्दा गर्दै समाचार लेखेका कारण मुद्धा हाल्ने विरुद्ध आफूपनि कानुनी लडाई लड्न तयार भएको चेतावनी दिइन । पत्रकार शाहीको विज्ञप्तिको अन्तमा, गलत कार्य गर्ने व्यक्तिका विरुद्ध आम सचेत नागरिक समाज, प्रहरी प्रशासन, न्यायिक निकाय, मानव अधिकार, पत्रकार जगतको साथ र सहयोगको अपेक्षा गरेकी छन ।