जुम्ला: कार्यसम्पादन मूल्याङ्कनको आधारमा जुम्लाको तातोपानी गाउँपालिका पहिलो देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्याङ्कनमा उक्त गाउँपालिका पहिलो भएको हो । जुम्लाका ८ स्थानीय तह मध्ये तातोपानी गाउँपालिकाले ६७ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी पहिलो भएको हो । त्यस्तै हिमा गाउँपालिकाले ६१ दशमलव ५ प्रतिशत अङ्कले दोस्रो भएको हो ।
त्यस्तै संजा गाउँपालिकाले ५८ दशमलव १ प्रतिशत,कनकासुन्दरीले ५६ दशमलव ९ प्रतिशत, पातारासी गाउँपालिकाले ५२ दशमलव ६ प्रतिशत, गुठीचौर गाउँपालिकाले ४९ दशमलव ७ प्रतिशत अङ्क पाएका छन् ।
त्यस्तै चन्दननाथ नगरपालिकाले ५६ दशमलव ८ प्रतिशत र तिला गाउँपालिकाले ३८ दशमलव २ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांकमा देखाएको छ ।
वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो।
आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्क हुने गरिएको छ । कार्यसम्पादन मूल्याङ्कनमा पालिकाले गर्ने काम कारबाहीबारे विभिन्न कोणबाट मूल्याङ्कन गर्ने गरिन्छ । कार्यसम्पादनको मूल्याङ्कन अनुसार पालिकालाई आउने अनुदान फरक फरक हुने गर्दछ ।