काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई नेकपा माओवादी केन्द्रको पहिलो वरियताको उपाध्यक्ष बनाउनु पर्ने प्रस्ताव पेश भएको छ ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पार्टी उपमहासचिव वर्षमान पुनले पासाङलाई पार्टी केन्द्रीय उपाध्यक्ष बनाउन प्रस्ताव गरेका स्रोतले बताए ।
उपमहासचिव पुनको प्रस्तावमा समर्थन जनाउँदै अर्का उपमहासचिव जनार्दन शर्माले उपराष्ट्रपति भइसकेका पासाङलाई उपाध्यक्ष मात्रै नभई १ नम्बरकै उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव बैठका पेश भएको स्रोतले बताए ।
‘पासाङलाई १ नम्बरकै उपाध्यक्ष बनाउन छलफल चलेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विरोध जनाएका स्रोतले बताए । श्रेष्ठको विरोधपछि पासाङलाई उपाध्यक्ष बनाउनेबारे निर्णय हुन नसकेको एक पदाधिकारीले बताए ।
आजको बैठकले पासाङलाई पार्टीको पद विना नै उत्पादन संयन्त्रको प्रमुखको जिम्मेवारी दिएको छ ।
पूर्वउपराष्ट्रपति पासाङलाई एक नम्मवरको उपाध्यक्ष बनाएमा श्रेष्ठ तेस्रो नम्बरमा झर्ने छन् । हाल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको वरियतामा श्रेष्ठ छन् ।
केही दिनअघि तत्कालीन जनमुक्ति सेनाका पूर्वकमाण्डरसँगको छलफलमा पूर्वउपराष्ट्रपति पासाङले आफूलाई पार्टीमा रोक्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
पासाङ कार्तिक २६ गतेबाट पदाधिकारीको बैठकमा सहभागी भएका थिए । त्यसपछिका माओवादीका हरेक बैठकमा सहभागी हुदै आएका छन् ।