२० माघ, विराटनगर । जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् ।उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् ।
अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो ।
२८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथानका पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
२६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।