काठाडौं । विभागीय टोली एपीएफ भलिबल क्लब पोखरामा जारी पाचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा टिपटप हेल्प नेपालसँग पराजित भएपछि बाहिरिएको छ। बुधबार दिउँसो भएको पुरुषतर्फको पहिलो खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबसँग ३–२ को सेटमा पराजित हुँदै एपीएफ प्रतियोगिताबाट बाहिरिएको हो।
सुरुवाती दुई सेट लगातार हेल्प नेपाललाई सुम्पेको एपीएफले उत्कृष्ट पुनरागम गर्दै खेलमा फर्किएको थियो। तर पाचौँ तथा अन्तिम सेटमा पराजित हुदा प्रतियोगिताबाट नै बाहिरिन पुग्यो। हेल्प नेपालले पहिलो र दोस्रो सेट लगातार २५–२२ र २९–२७ ले आफ्नो पक्षमा पारेको थियो। तर तेस्रो र चौथो सेट भने १३–२५ र २३–२५ ले एपिएफले आफ्नो पक्षमा पार्न सफल भयो। पाचौँ सेटमा हेल्प नेपालले १५–१२ ले जित दर्ता गर्यो। हेल्प नेपालले अब लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्नेछ। यी दुई टोलीबीचको सोमबार स्थगित भएको थियो। यो खेलको विजेताले एलिमिनेटर खेल्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।