काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताएका छन् । प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँ । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ ।’
उक्त विषयमा पूर्वराष्ट्रपति भण्डारी सचेत नै भएको जस्तो आफूलाई लागेको पनि ज्ञवालीले बताए ।
पूर्वराष्ट्रपति भण्डारी सामान्य अवस्था एमालेलेमा सक्रिय हुने सम्भावना आफूले नदेखेको भन्दै ज्ञवालीले आम नागरिकले पनि यस्तो कुरा नचाहेको दाबी गरे ।
साथै, उनले पार्टी अध्यक्षकै इच्छा विपरित प्रतिस्पर्धा गर्नेगरी राजनीतिमा आउन लागेको भन्ने कुरा सहि नभएको दाबी गरे ।
उनले भने, ‘असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भूमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै छलफल गर्न सकिन्छ । अहिले तत्कालै उहाँ सक्रिय राजनीतिमा फर्कनुहुन्छ अथवा केही साथीहरूले भनेजस्तो पार्टी अध्यक्षकै इच्छा विपरित स्पर्धा नै गर्नेगरी आउन खोजेको भन्ने कुरा सहि होइन । उहाँको त्यो भनाइ पनि होइन ।’
भण्डारीले नै देशले मागेको बेलामा जुनसुकै भूमिकाका लागि तयार भएको भन्दै अहिले गरिएका चर्चाहरू अनुमान मात्रै भएको जिकिर गरे ।