काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले घरेलु कामदारका रुपमा खाडी गएका सबै महिलाहरुसँग दुर्व्यवहार हुन्छ भन्ने भाष्य गलत भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित श्रमिकहरुको सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘जे कुरामा पनि सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छन् । तर नकारात्मक कुरालाई मात्र किन अगाडि ल्याउने ? १०–२५ वर्ष नै घरेलु कामदारका रुपमा रहेकाहरुको अवस्था राम्रो पनि छ नि । धेरै सङ्ख्यामा राम्रो नै भएको देखेको छु । नेपालमा चाँही सबै दिदी बहिनीहरुको अवस्था राम्रो छ त ?’, घरेलु कामका लागि जानेहरुलाई केन्द्रीत गरेर उनले थपे, ‘काठमाडौंमै पनि घरमा काम गर्ने महिलाहरु हुनुहन्छ । कसैको लागि राम्रो भएको छ । केही ठाउँमा अप्रिय घटना घटेका छन् । यस्ता घटनालाई हेरेर खाडीमा सबै महिलाहरुसँग दुर्व्यवहार हुन्छ भन्ने खालको भाष्य कत्तिको उचित हुन्छ ?’
उनले नेपाली श्रमिक मुलुकको लागि शक्ति भएको पनि बताए । वैदेशक रोजगारीमा गएकाहरु दक्ष भएर स्वदेश फर्किने भनाइ राख्दै उनले भने, ‘श्रमका लागि जो पनि वैदेशिक रोजगारीमा जानुहुन्छ, फर्केर आउनुनै हुन्छ । लामो समय त्यहाँ काम गरिसकेपछि उहाँहरु सिप सिकेर आउनुहुन्छ । काममा पोख्त भएर आउनुहुन्छ । रेमिट्यान्सभन्दा ठूलाे देशका लागि उहाँहरुको सिप हुन्छ ।’
उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुले सिप र ज्ञान सिकेर नजाँदा धेरै दुख पाइरहेको अवस्था रहेको पनि बताए ।