काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा पेस भएको छ । सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा अदालतमा पेस गरेको हो ।
सरकारी वकिलको कार्यालयले सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा पेस गरेको हो । सरकारी वकिलको कार्यालयले मुद्दा पेस गरेको छ भने अहिले जिल्ला अदालतमा दर्ता हुने प्रक्रियामा रहेको छ ।
लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको हो । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार लीला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ।
सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने २ कार्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । पहिलो चरणमा पक्राउ पुर्जी जारी भएकामध्ये सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाइ भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर र ऋण अधिकृत बुद्धि गुरुङ फरार छन् ।
सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा राई, लामिछाने, जोशीलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।