काठमाडौँ । १७ वर्ष पछि गौर हत्या काण्डको फाइल खोल्न माग गदै आन्दोलनको घोषणा गरेका छन् । आज भन्दा १७ वर्ष अघि रौतहट जिल्लाको गौरमा माओवादी कार्यकर्ताहरुको सामुहिक हत्या भएको थियो । उक्त हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
गौर हत्या काण्ड संघर्ष समितिले सोमबार रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो हत्याकाण्डको फाइल खोली प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
यहि साउन १४ सम्म आफ्नो माग पुरा नभए साउन १५ बाट अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले साउन २ देखि १२ गतेसम्म रौतहटका पालिकाहरुमा हत्याकाण्डबारे जानकारी र अन्तरक्रिया, साउन १३ गते सहिद तथा पीडित परिवारबाट धर्ना, साउन १४ गते मोटरसाइकल र्याली र १५ गतेबाट अनिश्चितकालिन रौतहट बन्दका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार गौर हत्या काण्ड संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ । संघर्ष समितिका संयोजक रुपसागर देवी लगायतले ज्ञापन पत्र बुझाएका छन् ।
‘अमानवीय र बीभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरुलाई अपराध पीडितको हक, न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौ’, संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
२०६३ साल चैत सात गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ताबीच भएको झडपमा २७ जना सर्वसाधारणको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।