कर्णालीमा मुख्यमन्त्रीको शपथसँगै मन्त्रीमण्डल विस्तार

सुर्खेत : कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन्।

मुख्यमन्त्री शर्माले नेकपा एमालेका विनोदकुमार शाह र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

दैलेखको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा १ (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नयाँ मन्त्रीको मन्त्रालय तोकिएको छैन। सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा रहेको मुख्यमन्त्री शर्माले बताए।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले ३ र माओवादीले मुख्यमन्त्री तथा अरु ३ वटा मन्त्रालय लिने सहमति भएको छ। कर्णालीमा मन्त्रालयको संख्या ७ बनाउने सत्ता गठबन्धनको तयारी छ।

शर्मालाई माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादीका १ र राप्रपाका १ जना सांसदको समर्थन छ।

४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना प्रदेशसभा सदस्यको आवश्यकता रहेको थियो। शर्माको पक्षमा २५ जना प्रदेशसभा सदस्यको समर्थन छ।

सम्बन्धित समाचार