बल्देधुरी घटनामा सहभागी १६ जनालाई जन्मकैद

बागलुङ : जिल्ला अदालत बागलुङले १६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। दुई वर्षअघि होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैद सुनाएको हो।

जिल्ला अदालत बागलुङको आदेशले ती युवा जन्मकैदमा परेका हुन्। जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले अभियोग लागेर पुर्पक्षमा परेका सबै युवालाई जेलको फैसला सुनाएको हो। घटनामा संलग्न एक बालकलाई भने सुधारगृह पठाइने भएको छ।

२०७७ सालको चैत १५ गते होलीको दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्यूठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो। स्वतस्फूर्त रूपमा लाग्ने मेलामा रमाउन गएका युवाबीच अबीर लगाएको विषयमा विवादसँगै झडप हुँदा हत्याको घटना भएको हो।

घटनामा बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो। बडिगाड गाउँपालिका वडा नं. १० का युवाले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो। घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो।

घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवा पक्राउ परेका थिए। पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो। दुईजना तारेखमा छुटेका थिए। एकजना उच्च अदालतको आदेश र अर्का सर्वोच्चको आदेशमा छुटेका थिए।

आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो। मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरूलाई जन्मकैद फैसला भएको हो। जन्मकैद सजाय अनुसार उनीहरू सबैलाई २५ वर्ष कैद हुनेछ। घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधारगृह पठाइने भएको हो।

सम्बन्धित समाचार