आगलागीमा परी १८ कोठे घर जलेर नष्ट, ६० लाखको क्षति

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका ४ स्थित गौतम बाडा निवासी काली बहादुर खत्री र जीत बहादुर खत्रीको घरमा आगलागी भएको छ ।

खाना पकाउने ग्याँस लिक भएर आइतबार बिहान साढे ५ बजे आगलागी हुँदा काली बहादुर, जीत बहादुरका ९ जना परिवार बस्दै आएको १८ कोठे घर जलेर खरानी भएको छ । आगलागी भएको पाँच घण्टापछि नियन्त्रणमा आएको थियो ।

पीडित काली बहादुर खत्रीका अनुसार घरमा भएको नगद १३ लाख सहित पाँच तोला सुन लत्ता कपडा, अन्नपात भाँडाकुँडा सबै जलेर खरानी भएको छ भने पीडित जीत बहादुर खत्रीका अनुसार नगद ६ लाखसहित घरको अन्नपात, लत्ताकपडा सबै नष्ट भएको छ ।

एउटै घरमा छुटिएर बसेका जीत बहादुर काली बहादुरको ९ जना परिवार अहिले बिचल्लीमा परेको छ । आगलागीले दुवै जनाको गरी झण्डै ६० लाख भन्दा बढीको क्षति भएको छ ।

आगलागी पीडित जीत बहादुर खत्री र काली बहादुर खत्रीको परिवारलाई तत्कालका लागि ७० हजार बराबरको लत्ताकपडा, भाँडाकुँडा सहित खाद्यान्न उपलब्ध गराइएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।

सम्बन्धित समाचार