पाँच वटा कक्षाका विद्यार्थी एउटै कोठामा पढ्न बाध्य

जुम्ला ः जुम्लामा पाँच वटा कक्षाका बिद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन । चन्दननाथ नगरपालिका – ५मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षा सम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन । जुम्लाको मुख्य सदरमुकाम खलंगास्थित गुरुकुल पाठशालाकी कक्षा ३ मा अध्ययनरत छात्रा नविना अधिकारीले कक्षा कोठा अभाव भएको बताइन । उनले भनिन,“ ५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ । उनलाई विद्यालय जाँदा सधैं कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।

एउटै कोठामा कोचिएर ५ वटा कक्षाका विद्यार्थी बस्नुपर्छ,’ उनले भनिन, ‘शिक्षक पनि एउटै हुनुहुन्छ, सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या भएको छ ।’ पाठशालामा नेपाली र संस्कृत दुईवटै भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत १ देखि ५ कक्षासम्मका ३० विद्यार्थी समस्यामा परेका छन् ।

त्यस्तै चन्दननाथ मन्दिरको एक कोठामा गुरुकुल शिक्षा पठनपाठन भइरहेको छ । २०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताए । उनले भने, चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्चबापत २ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ  ।

त्यस्तै नगरपालिकाको ‘सानो बजेट कहाँकहाँ पु¥याउनु ?’ प्रधानाध्यापक विश्वराज उपाध्यायले भने, ‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो, तर भौतिक संरचना र शिक्षक अभावले आफैंमा अस्तव्यस्त छ ।’उनले भने जुम्लामा पाठशाला खोलिएपछि संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिन्छन् । तर विद्यालयको वातावरण निकै अस्तव्यस्त बनेको उनको भनाइछ । ‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै,’ उनले भने, ‘प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको छु । शौचालय र खानेपानीको सुविधा भए पनि विद्यार्थीका लागि उचित फर्निचरको प्रबन्ध छैन ।’

अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि ५ सम्म १४ छात्रा र १६ छात्र छन् । पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उनले बताए  । ‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ, सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो, तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन,’ उनले भने ।
पाठशालामा जातिय विभेद गरिएको छैन

पाठशालामा दलित र गैरदलितका विद्यार्थी पनि पढ्न पाउँछन् । जातीय आधारमा कसैलाई विभेद नगरिएको पाठशालाले जनाएको छ । पाठशालामा दलितका पाँच बालबालिका भर्ना भएका छन् । बेलुकी ४ देखि ६ बजेसम्म २ घण्टासम्म पाठशाला सञ्चालन हुन्छ । यही पाठशालामा पढेका रमेश न्यौपाने चन्दननाथ मन्दिरका मुख्य पुजारी छन् ।

त्यस्तै चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार चन्दननाथ नगरपालिकाले बार्षिक बजेट एकमुष्ट दुई लाख ४१ हजार रुपिया अनुदान दिने गरेको छ । गुरुकुल पाठशालामा भौतिक संरचना र शिक्षकको अभाव देखिन्छ उनले भने,“अहिले राष्ट्पति शैक्षिक सुधार कार्यक्रमको प्रस्तावना आव्हान भएको छ । गुरुकुल पाठशालाले त्यहाँ प्रस्तावना पठाएको खण्डमा छनोट हुने सम्भावना रहन्छ ।

सम्बन्धित समाचार