जुम्लामा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु
जुम्लाको कनकासुन्दरी गाउँपालिका– १ बुलबुलेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान सुर्खेतबाट मुगु जाँदै गरेको लु.१ज ३७३४ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मुगुको छायाँनाथ–रारा नगरपालिकाका दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार दुर्घटनामा जिपचालक दलबहादुर बुढा गम्भीर घाइते भएका थिए । जिपचालक बुढा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतला जुम्लामा उपचारको क्रममा दिउसो मृत्यु भएको हो । चालकसहित ६ जना जिपमा सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । चार जना अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ ।








