खानी उत्खनन् सरकारको प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमूल्य धातु तथा खनिजको उत्खनन्लाई संघ र प्रदेशका सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
सोमबार ललितपुरमा नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैंठौं वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले खनिजको उत्खनन्लाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले नेपालको वैदेशिक व्यापार घाटा कम गर्दै राष्ट्रिय उत्पादकत्व बढाउन आफ्नै देशको खनिज पदार्थले महत्वपूर्ण भूमिका खेल्ने भएकोले नेपालमा सम्भावना भएका बहुमूल्य धातु तथा खनिजको उत्खनन्लाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
शाहीले नेपालको कर्णाली प्रदेश बहुमूल्य धातु तथा खनिजको लागि धेरै सम्भावना भएको क्षेत्र भएकोले सबै तहका सरकारले ध्यान दिन पनि आग्रह गरे ।