तिलाका सुनौलो हजार दिनका आमासंग उपाध्यक्ष कार्यक्रम

जुम्ला ः तिलाका सुनौलो हजार दिन भित्रका आमासंग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष बिष्णु बुढाले संञ्चालन गरेको सुनौलो हजार दिन भित्रका आमासंग उपाध्यक्ष कार्यक्रम प्रभावकनरी बन्दै गएका हुन । उपाध्यक्ष बुढाले पोषण सहजकर्ता,स्वास्थ्यकर्मी लिएर उनीहरुको पोषण अवस्थाको बारेमा सहजीकरण गर्न गाउँ पुग्ने गरेकी छन ।

उपाध्यक्ष बुढाले भनिन् पहिलो बर्ष फिल्टर बाड्यौँ ।दोस्रो बर्ष अण्डा, तेल र साबुन बाड्यौँ । तेस्रो बर्ष पोषिलो कोशेली लिएर गाउँ गयौँ ्,‘एकोहोरो सरकारले बाँडेर मात्र नहुँदो रहेछ बुढाले भनिन । अब गर्भवती तथा सुत्केरी आमालाई आफैले पोषिलो खानेकुरा बनाउनको लागि सुझाउँदै गाउँगाउँमा पुगिरहेका छौँ । पोषिलो कोशेली स्वरुप धान उत्पादन नहुँने क्षेत्रमा स्थानीय जातको मार्सी चामल,धान उत्पादन हुँने क्षेत्रमा चना दिइएको थियो । त्यो संगै बच्चालाई न्यानो कपडा,तोरीको तेल र सुनौलो हजार दिन भित्रका आमाको पहिचान दिलाउने झोला दिइएको थियो ।
उपाध्यक्ष बुढाले भनिन्,‘अब यहाँका आमा र बच्चाको पोषण अवस्था सधार गर्न उनीहरुलाई जिम्मेवार बनाउनुपर्छ भन्ने ठान्यौँ, यो बर्ष सचेतना फैलाउन गाउँमै पुग्न थालेका छौँ । तिला गाउँपालिका १ रारागाउँ देखि यो कार्यक्रम शुरु भएको छ ।
यो बेला गर्भवती महिलालाई सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने,नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनु पर्ने,बच्चालाई नियमित स्तनपान गराउदै पोषिलो खानेकुरा खुवाउनको लागि हरेक आमा तयार हुनु पर्ने जस्ता सन्देश दिइएको छ । यस्ता कार्यक्रममका कारण अहिले तिलाका महिला गेडागुडी जन्य बस्तु खान थालेका छन । यस अघि सिमी,फापर बेचेर मैदा किनेर रोटी बनाएर खुवाउने गर्थे । यो कार्य पटक्कै राम्रो भएन उपाध्यक्ष बुढाले भनिन्,‘आफ्नै खेतबारीमा उत्पादित पोषिलो खानेकुरा खुवाउनुपर्छ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने मनसायले गाउँगाउँमा पुग्ने कार्य शुरु भएको छ । ’
उनले भनिन,“तिला १ रारागाउँमा ९७ जना सुनौलो हजार दिन भित्रका आमा छन । उनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ । कुपोषणबाट आफु बच्न र बच्चालाई समेत बचाउनको लागि आग्रह गरिएको छ ।

त्यस्तै स्वास्थ्यचौकी जुम्लाकोटमा इन्चार्ज स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमालो पोषणको महत्वका बारेमा निकै संवेदनशिल हुनुपर्ने बताए । उनले भने,‘८० प्रतिशत दिमागको विकास २ बर्षभित्र हुन्छ । यो बेला पोषिलो आहारको आवश्यक पर्छ । उनले स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी,माछामासु,अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दिए । उनले थपे,‘आमा र बच्चा सुपोषित हुनुपर्छ । कुपोषणको चक्र तोड्नु पर्छ । अनिमात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर बन्छ । ’

तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत हरेक वडामा सुनौलो हजार दिन भित्रका आमा संग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन ।
पहिले सुत्केरी हुँदा समेत गोठमै बस्ने चलन थियो ।

कमसल खानेकुरा दिने,खानपान र आराममा ध्यान नदिने गरिन्थ्यो, पहिले भन्दा अहिले निकै सुधार भइसकेको छ,पोषण संयोजक रावतले भनिन्,‘अझै पनि सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य बारेमा निकै जिम्मेवार हुन आवश्यक छ । यो कार्यक्रम गाउँपालिका भित्रका सबै वडामा सञ्चालन हुनेछ । पोषण अवस्था,पोषिलो खानेकुरा,पोषणको महत्व,स्तनपानका आसनबारे जानकारी दिने देखि गर्भवती र सुत्केरी आमाको अनुभव समेत लिने गरिएको छ । पोषण र पोषिलो खानेकुरा बारेमा गाउँमा पुगेर सचेतना जगाउन थालेपछि स्थानीय महिला उत्साहित भएका छन ।