एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको उद्धघाटनको तयारी पुरा

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमको उद्धघाटनको सबै तयारी पुरा भएकोछ । जसका लागी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जुम्ला आउँदैछिन । सो अवसरमा उनले ७६ करोड रुपैयाँमा बन्न लागेको क्वाटर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले जनाएको छ । प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले राष्ट्रपति भण्डारी ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको बताए । उनले भने हेलिकप्टरमा आउने लागेकी भण्डारी नेपाली सेनाको नन्दाबक्स गणमा अवतरण गर्नेछिन । उनको खाना गण मै हुनेछ । खाना लगत्तै उनले क्वाटर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको रजिष्ट्रार महत बताउँछन ।
त्यस लगत्तै एमबीबीएस,बिएनएस,बिफार्मा लगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा हुनेछ । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खातुन जुम्ला आइपुगेका छन ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा र शिक्षामन्त्री देवेन्द्र पौडेल आउने भनेपनि व्यस्तताका कारण नआउने भएका छन । एक दशक अघि सम्म कर्णालीमा यो स्तर सम्मको पढाइ हुन्छ भन्ने कुनै कल्पना थिएन,रजिष्ट्रार महतले भने,‘यो एकजनाको लागि होइन । कर्णालीबासीको उपलब्धि हो । ’
राष्ट्रिपति कार्यालय र प्रतिष्ठानका बीच आपसी समन्वयमा कार्यक्रम तालिका बनेको हो । उनले भने,‘विहान ११ देखि सवा ११ बजे सम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ । त्यो लगत्तै एमबीबीएस लगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुनेछ ।
सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेश सभा सदस्य तथा पुर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी,पुर्व पर्यटन राज्यमन्त्री बलबहादुर महत लगायत २२ जनालाई प्रसंसा पत्र र दोसल्ला ओढाइने प्रष्ठिानले बताएको छ ।

प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनको लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकाल देखिका पुर्वपदाधिकारीहरुलाई सम्मान पत्रका साथ सम्मान गर्ने कार्यक्रम रहेको रजिष्ट्रार महतले बताए ।

एमबीबीएसमा १९ जना,बिपिएचमा ८ जना,बिएनएसमा १६ जना,बिफार्माका ८ जना र बिएमएसमा ११ जना भर्ना भएका छन । स्कलरसीपका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । स्नातकोत्तर तहको एमडिएमएस कार्यक्रम लगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन राष्ट्रपति जुम्ला आउने भएपनि उच्च सतर्कता अपनाइएको छ । सदरमुकाम खलंगाका सबै सडकमा सरसफाई समेत गरिएको छ ।