कोरोनाका कारण कम्यूनिष्ट नेता अमरसिंह बुढ्थापाको निधन
जुम्ला ः जुम्लाका कम्यूनिष्ट नेता अमरसिंह बुढ्थापाको निधन भएको छ । कोरोनाका कारण विरामी भएका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले बताए । बुढ्थापाको ६४ बर्षको उमेरमा निधन भएको छ।
बि.सं २०३६ सालमा सरकारी नोकारी खाना कालिकोट गएका बुढ्थापा जनमत संग्रहमा पञ्चायतको बिपक्षमा प्रचार गर्दै जुम्ला आएर नेमकिपाको पूर्णकालिन राजनितिमा लाग्नु भएको थियो । नेपाल मजदुर किसान पार्टी जुम्लाको सस्थापक सदस्य मध्यका बुढ्थापा पनि रहेको नेताहरुले बताएका छन् । पञ्चायतका बिरुद्ध आन्दोलन गरेर जुम्लामा बर्षौ जेल भोगेका नेता बुढ्थापाले भने सरकारी राजनितिक पद लिन पाएनन ।
बहुदलको पक्षमा आन्दोलन गर्दा तत्कालिन राज्यले यातना सहित ज्यान लिने समेत प्रयास गरेको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य पूर्णप्रसाद धितालले बताए । उनका अनुसार बुढ्थापा त्यहाँबाट पनि बचेर सक्रिय राजनितिमा लागेका थिए । नेता बुढ्थापाको नेपाली सेनाले अन्त्यष्टी गरेको छ । कोरोना संक्रमणका बिरामीलाई गरिने दाहासंस्कार अनुसार अन्त्यष्टी गरिएको मेजर दिनेश न्यौपानेले बताए ।जिल्लाको शुशासन भ्रष्ट्राचारका बिषयमा आवाज उठाईरहने नेता बुढ्थापाको कम्यूनिष्ट आन्दोलन र योगदान जुम्ली जनताले बिर्षने छैनन् ।








