जुम्लाको दैनिक उपभोग्य बस्तुमा मुल्यबृद्धि, उपभोक्ता मर्कामा

दिलमाया शाही
जुम्ला ः नागरिकको दैनिक भान्सामा प्रयोग हुने दैनिक उपभोग्य बस्तुको मुल्य आकासिदा उपभोक्ता मर्कामा परेका छन् । पछिल्लो समयमा सरोकारावाला निकाय, स्थानीय तह, प्रहरी प्रशासन लगायतले बजार अनुगमन नगरेका कारण उपभोग्य बस्तुको मुल्य आकासिएको हो । खाने तेल, चामल, दाल, ग्यासको मुल्यबृद्धि हुदा यहाँका उपभोक्ता मर्कामा परेका छन एकाएक भटमासको स्वास्थित तेल र धारा तेलको मुल्य ह्वात्तै बढेपछि स्थानीय मारमा परेका हुन् । खाने तेल भटमासको प्रति प्याकेट (आधा लिटर) १ सय १० देखि १ सय २० रुपैया, धारा तेल प्रति प्याकेट (आधा लिटर) १सय ५० रुपैया भन्दा बढी मुल्यमा उपभोक्ताले खरिद गरी प्रयोग गर्न बाध्य भएका छन् ।पहिलो प्रति प्याकेट ८० देखि ९० रुपैया पर्ने भटमासको तेल अहिले १ सय २० रुपैया परेको छ । भने, धारा तेल पहिले प्रति प्याकेट १ सय देखि ११० रुपैयामा प्रयोग गर्दै आएका नागरिक अहिले १ सय ५० रुपैयामा किन्ने गरेका छन् । तेलको प्रिन्ट मुल्यनै बढेर आएको छ । खरिद गर्दानै मुल्य बढाएपनि महंगो भएको हो । ब्यापारिले उपभोक्ताबाट धेरै नाफा नखाएर विक्री गरेका छौ ।
धारा तेलको प्रति प्याकेट १सय ४० र भटमासको तेल प्रति प्याकेट १ सय २५ रुपैया प्रिन्ट मुल्य आएको छ । सदरमुकाम भन्दा गाउँघरमा व्यापारीरुले भने नागरिकको ढाडै सेकिने गरी तेलको मुल्य लिएको स्थानी बताउँछन् ।त्यस्तै चामल २५ केजीको १ हजार ८ सय रुपैया, ग्यास सिलिण्डर चेन्ज गरेको प्रति सिलिण्डर १ हजार ७ सय ५० रुपैया पर्ने गरेको स्थानिय धनबहादुर नेपाली,बताए । उनले भने ,अब सामान्य नागरिकले तेल किनेर खान सक्ने अवस्था रहेन । दैनिक सय रुपैयाको कमाई छैन् । काम गरौ काम छैन् ।
अहिले खाने तेल नै प्रति प्याकेट १ सय ५० सम्म पर्न थाल्यो ।”बालबच्चालाई नुहाइधुवाई गरेपछि घसाउने धारा तेलको मुल्य आफुजस्ता सामान्य नागरिकले किन्नै नसकिने गरी बढेको उनको भनाइ छ । १सय ५० रुपैया प्याकेट धारा तेल किनेर प्रयोग गर्न सकिदैन । आर्का स्थानिय डिल्ली दमाईले भने, ६०÷६५ पर्ने भटमासको तेलको मुल्य १२० भन्दा माथि पुगेको छ । दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्नेहरुलाई मुल्यबृद्धिले ठुलो असर गरेको छ । दैनिक तेलको मुल्य बढ्दै जादा नागरिक मारमा परेका छन् ।
उद्योग बाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले भने , कोभिडका कारण तेल कम्पन्नीमा कच्चा पर्दाथ पनि अभाव भएकाले तेल महंगीएको हो । सामान्य नागरिकलाई समस्या भएको छ । तर उद्योग बाणिज्य संघ केहि गर्न सक्ने अबस्था छैन । उनले भने , दुर्गमका नागरिकका समस्या बुझ्दै सरकारले कम्पन्नीहरुमा अनुगमन तथा निरिक्षण गर्न आवश्यक छ ।सर्वसाधारणले थेक्न नसक्ने गरी बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि भएकोे छ । मुल्यबृद्धि कोरोना संक्रमणका कारण कच्चा पदार्थको अभावले मुल्यबृद्धि हुन गएको बुझिएको छ । संघीयतापछि बजार अनुगमनको क्षेत्राधिकार स्थानीय तहलाई पनि भएकोले छिट्टै यस विषयमा बजार अनुगमन गरी नागरिकलाई राहत पुग्ने मुल्य व्यवस्थापनमा जोड आबश्यक रहेको छ ।








