नेपाली कम्युनिस्ट पार्टी जुम्लाको निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण सम्पन्न

जुम्ला : नेपाली कम्युनिस्ट पार्टी जुम्लाले निर्वाचन लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा केन्द्रीय सदस्य नवराज न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै विशेष परिस्थिति सिर्जना भएको उल्लेख गरे। उनले संघर्ष गरेर ल्याएको गणतन्त्र माथि खतरा देखिन थालेको भन्दै निर्वाचन सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।

केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिकी संयोजक गोमा गौतम कंवरले आत्मीय साथ र सहकार्यका साथ पार्टीलाई विजय गराउन सबैलाई आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय हुन अनुरोध गरिन्।

नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक उम्मेदवार तिर्थबहादुर बुढाले प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीलाई विधिसम्मत रूपमा सिफारिस गरिएको बताए। उनले पार्टी जनताको भएको उल्लेख गर्दै एकढिक्का भएर अघि बढ्न आग्रह गरे। “हाम्रो सिद्धान्त जनताको समाजवाद हो। पार्टी मिलेर नयाँ रूपमा चुनाव लड्दैछ,” उनले भने। अन्य पार्टीलाई ‘हावाको पछि लाग्ने’ भन्दै उनले आफ्नो नेतृत्वमा धेरै काम भएको र आगामी दिनमा पनि निरन्तरता हुने दाबी गरे। पार्टीका उम्मेदवारलाई विजय गराउन उनले सबैमा अपिल गरे।

प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीले नेपालमा राजनीतिक जनआन्दोलनपछि सबै पार्टी निर्वाचनको मैदानमा उत्रिएको बताए। प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विश्वको ध्यान नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भएको दाबी गरे। अन्य पार्टी विभाजनतर्फ उन्मुख हुँदा आफ्नो पार्टी भने एकताबद्ध भएको उनको भनाइ थियो। “देशका दुई दर्जन शक्तिहरू एकीकृत भएका छन्, जसले पार्टीलाई शक्तिशाली बनाउनेछ,” उनले बताए।

भण्डारीले जुम्लाबाट तिर्थबहादुर बुढा र आफू निर्वाचन मैदानमा रहेको उल्लेख गर्दै खुला बहसका लागि तयार रहेको बताए। उनले अन्य दलका उम्मेदवारलाई पनि विकास निर्माणका एजेन्डासहित बहसमा आउन आग्रह गरे। जनतालाई विजयी गराएर संघदेखि पालिका र वडासम्म विकासको जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीलाई दिन उनले अपिल गरे।

आफ्ना कामलाई ओझेलमा पार्न अफवाह फैलाइएको आरोप लगाउँदै उनले “म काम गर्ने व्यक्ति हुँ, बोलेर मात्रै बस्ने होइन। झुटा प्रचारले हाम्रो यात्रा रोक्न सक्दैन,” भने। निर्वाचनलाई लडाइँको रूपमा व्याख्या गर्दै उनले सबै असन्तुष्टि थाती राखेर चुनावमा केन्द्रित हुन आग्रह गरे।

भण्डारीका अनुसार विगतमा जुम्लालाई अशिक्षित र गरिब जिल्लाका रूपमा चिनाइए पनि अहिले चिकित्सक उत्पादन गर्ने जिल्लाको रूपमा परिचित गराइएको छ, जसका कारण मातृमृत्यु दर शून्यमा झरेको दाबी उनले गरे। अब सिंजालाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्दै जुम्लालाई भाषा र सभ्यताको “जननी जिल्ला” का रूपमा चिनाउने सपना रहेको उनको भनाइ थियो।

कार्यक्रममा केन्द्रीय सदस्य राजबहादुर खत्रीले फागुन २१ पछि विजय जुलुस निकाल्ने तयारीमा जुट्न सबै तह र तप्काका नेता–कार्यकर्तालाई आग्रह गरे। साथै, नेपाली कम्युनिस्ट पार्टी जुम्लाको निर्वाचन समितिले भोलि पत्रकार सम्मेलन गर्ने जनाएको छ।

सम्बन्धित समाचार