शिक्षा र पोषणमा सुधार ल्याउन मुगुमा सिक्दै पढ्दै’ कार्यक्रम सञ्चालन हुँदै
Your message has been sent
मुगु:हिमाली जिल्ला मुगु पर्यटन, कृषि र जडीबुटीका दृष्टिले धनी भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जन र पोषणको हिसाबले अझै पछाडि परेको जिल्ला हो। यही अवस्थालाई सुधार गर्ने उद्देश्यले मुगु जिल्लामा शिक्षा र पोषणमा सुधार ल्याउन ‘सिक्दै–पढ्दै’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
विश्व भोकमरी निवारण कार्यक्रम अन्तरगत कर्णाली सामुदायिक विकास केन्द्र, मुगु मार्फत छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका विभिन्न बस्ती तथा विद्यालयहरूमा यो परियोजना सञ्चालन हुने भएको छ। विशेषगरी मुगु जिल्लामा विद्यमान शिक्षा, स्वास्थ्य, खाद्य असुरक्षा, कुपोषण, गरिबी, जलवायु परिवर्तन, नेतृत्वका अवसरको अभाव, पिछडिएका तथा सीमान्तकृत समुदाय, बालबालिका, युवा र महिलासँग सम्बन्धित समस्याहरू समाधान गर्दै युवालाई सशक्त बनाउने लक्ष्य परियोजनाले लिएको छ। साथै वन्यजन्तु र वनजंगलमा परेको असरलाई समेत सम्बोधन गर्ने उद्देश्य राखिएको छ।
यस कार्यक्रम अन्तर्गत जिल्लाका दुई स्थानीय तहका ६ वटा माध्यमिक तथा आधारभूत विद्यालयमा ‘सिक्दै–पढ्दै’ कार्यक्रम सञ्चालन गरिनेछ भने समुदायस्तरमा पनि विभिन्न गतिविधिहरू सञ्चालन हुनेछन्। परियोजनाबारे जानकारी गराउने उद्देश्यले सरोकारवाला निकाय, स्थानीय पालिकाका प्रमुख तथा जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको छ।
छायाँनाथ रारा नगरपालिकाभित्र महाकाली उच्च माध्यमिक विद्यालय, कर्णाली माध्यमिक विद्यालय टोप्ला, मष्टा आधारभूत विद्यालय थार्प तथा खत्याड गाउँपालिकामा लोकप्रिय माध्यमिक विद्यालय गम्था, जनजागरण माध्यमिक विद्यालय सेरी र महादेव माध्यमिक विद्यालय ह्रायाङ्गलुमा कार्यक्रम सञ्चालन हुनेछ। पहिलो चरणमा यो परियोजना तीन वर्षसम्म सञ्चालन हुने जनाइएको छ।
परियोजनाका प्राथमिक लक्षित समूहमा प्राथमिक तथा माध्यमिक विद्यालयका किशोर–किशोरी करिब २ हजार जना, ६० जना शिक्षक, ६ वटा विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ (पीटीए) का सदस्य, स्थानीय शिक्षा निकायका प्रतिनिधि तथा नगरपालिकाका प्रतिनिधिहरू रहेका छन्। परियोजना नीति र नियमअनुसार सञ्चालन गरिने कर्णाली सामुदायिक विकास केन्द्र, मुगुकी अध्यक्ष सङ्गीता मल्ल (शाही) ले जानकारी दिइन्।
कार्यक्रमले मुगुका युवाहरूको सोच र नेतृत्व क्षमताको विकास गर्दै दिमागको पोषण गर्ने भएकाले निकै प्रभावकारी रहेको बताइएको छ। छायाँनाथ रारा नगरपालिकाभित्रका तीन विद्यालयमा कार्यक्रम सञ्चालन गरिएकोप्रति संस्थालाई धन्यवाद दिँदै नगरपालिकाले परियोजनाको सम्पूर्ण अवधिभर पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाबाट आर्थिक बजेटसहित सहकार्य गरिने छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताए। उनका अनुसार कार्यक्रम सफल बनाउन सम्बन्धित विद्यालयहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ।








