स्याउका विभिन्न परिकार बनाउने तालिम सम्पन्न, टोप्लाका १३ कृषकले सिके प्रशोधन सीप
मुगु:मुगुको छायाँनाथ रारा नगरपालिका–८, टोप्लामा सञ्चालित तीनदिने ‘पोस्ट हार्भेस्ट तथा फलफूल प्रशोधन तालिम’ सम्पन्न भएको छ। कृषि उपजको उचित उपयोग, मूल्य अभिवृद्धि तथा कृषकको आम्दानी वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम असोज २० गतेदेखि २२ गतेसम्म चलेको हो।
तालिममा टोप्लाका १३ जना कृषकको सक्रिय सहभागिता रहेको थियो। सहभागी कृषकलाई स्थानीय स्तरमा उत्पादन हुने फलफूलको उचित सदुपयोग गर्दै विभिन्न परिकार बनाउने व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो।
तालिमका क्रममा स्थानीय कृषि उपजको प्रयोग गरी स्याउको सुकुटी, स्याउका चाना, जाम, जेली तथा तारु चुकको जुस बनाउने सीप सिकाइएको कृषक मणिचन्द भामले जानकारी दिए।
स्थानीय स्तरमै फलफूल प्रशोधन, भण्डारण तथा बजारीकरणसम्बन्धी सीप हस्तान्तरण गरिएकाले कृषि उपजको नोक्सानी न्यूनीकरण हुनुका साथै उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्यमशीलता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुगुका प्रमुख तेजविक्रम मल्लले बताए।
यस्ता तालिमले स्थानीय कृषकलाई उत्पादनको उचित व्यवस्थापन, प्रशोधन र बजारीकरणमार्फत आम्दानी बढाउन तथा कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ।








