गुणस्तरीय स्याउ उत्पादनले खुलाउँदै जुम्लाको आर्थिक सम्भावना

जुम्ला : जुम्लाका किसानहरू भन्छन्—गुणस्तरीय स्याउ उत्पादन गर्न सके बजारको अभाव हुँदैन। जुम्ला चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले वि.सं. २०६२ सालदेखि स्याउ खेती गर्दै आएका छन्। उनका अनुसार, उनले लगाएको ३ सय ६५ बिरुवा स्याउले हरेक वर्ष ३ देखि ६ लाख रुपैयाँ आम्दानी दिँदै आएको छ। उनका अनुसार, गुणस्तरीय उत्पादनका कारण भदौ १५ देखि मात्रै स्याउ टिप्न थाल्दा अन्य किसानको तुलनामा उच्च मूल्यमा बिक्री हुने गरेको छ। भण्डारी भन्छन्, “किसानको काम उत्पादन गर्नु हो, बजारको व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ। तर अहिले किसान आफैँ व्यापारी बनेको देखिन्छ ।
त्यस्तै जुम्लाको गुठिचौर गाउँपालिका–५ निवासी मिनबहादुर भण्डारीको “गुठिचौर एग्रो फर्म“ जिल्लाकै सबैभन्दा ठूलो स्याउ बगैँचा हो। फर्ममा ४० हजार बिरुवा रहेका छन्, जसमा ९९ प्रतिशतले फल दिइरहेका छन्। उनी भारत निर्यातको तयारीमा छन् र यसका लागि कानुनी प्रक्रिया राज्यले चाँडो टुंग्याउनुपर्ने माग राख्छन्। हिमा गाउँपालिका–३ का अर्का किसान गोपाल रोकायाले पनि एक दशक भन्दा बढी समय देखि स्याउ खेती गर्दै आएका छन्। असिनाले केही क्षति पु¥याए पनि उनको बगैँचाबाट करिब ३ सय कार्टुन स्याउ फल्ने अपेक्षा गरिएको छ। रोकायाले उत्पादन भएको अर्गानिक स्याउ जुम्लाकै कोल्ड स्टोरमा बुझाउने गरेका छन्।
१३ करोड लागतमाकोल्ड स्टोर, तर किसानलाई काँचो स्याउ बेच्न हतार
जुम्ला सदरमुकाममा करिब १३ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बहुउद्देश्यीय कोल्ड स्टोर किसानको स्याउ भण्डारणका लागि तयार भएको छ ।तर पनि यसको प्रयोग कम भएको देखिन्छ। कैलाश जनरल स्टोरका सञ्चालक देउऋषि चौलागाईंका अनुसार, यो कोल्ड स्टोर १० करोड बैंक ऋण, २ करोड २० लाख व्यक्तिगत लगानी र ८० लाख सरकारी अनुदानमा निर्माण गरिएको हो। यो कोल्ड स्टोरमा २० लाख केजीसम्म स्याउ भण्डारण गर्न सकिने क्षमता छ। एक केजी स्याउलाई ६ महिनासम्म राख्न १० रुपैयाँ मात्र शुल्क लाग्छ। तर चौलागाईंका अनुसार, किसानहरू अझै पनि स्याउ पक्न नपाउँदै काँचो स्याउ बजारमा पठाउने हतार गरेको देखिनछ । यसले गर्दा भबिस्यमा स्याउको मूल्य घट्ने समस्या रहेको छ।
स्याउ उत्पादनमा फड्को
जुम्लामा स्याउ उत्पादनमा पछिल्लो समय ठूलो फड्को आएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल जिल्लामा ४,४०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ, । जसमा करिब २ हजार हेक्टरमा उत्पादन भइरहेको छ। कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, चालु आर्थिक वर्ष २०८१÷०८२ मा करिब १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। यद्यपि, वैशाख १७, जेठ ७ र ८ गते परेको असिनाले उत्पादनमा गिरावट आएको छ।


अधिकारीका अनुसार, गत आर्थिक वर्षमा मात्रै जुम्लाबाट ९,३९१ मेट्रिक टन स्याउ बिक्री भई ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको थियो। चालु वर्षमा मूल्य वृद्धि भए पनि उत्पादन घट्ने अनुमान गरिएको छ। असिनाले जिल्लाभर ७,१९२ जना किसानका ५,८४,०२७ स्याउका बिरुवा प्रभावित भएका छन्। यसबाट करिब ३६ लाख ८९ हजार केजी स्याउ उत्पादन नहुने अनुमान गरिएको छ, जसको मूल्य करिब १६ करोड ६९ लाख रुपैयाँ बराबर हुने बताइएको छ।
उच्च घनत्वको स्याउ खेतीतर्फ आकर्षण
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्वका स्याउका बिरुवा रोपिएको छ। कृषि विकास अधिकृत खेमराज शाहीका अनुसार, परियोजनाले २०७५÷०७६ देखि ५८ वटा बगैँचामा लगानी गर्दै आएको छ। स्याउ उत्पादन बढे पनि प्राकृतिक विपद्का कारण नियमित समस्या देखिएको छ। तथापि, किसानले गुणस्तरीय उत्पादनमा ध्यान दिने हो भने बजारको कमी नहुने किसान र स्याउ बिज्ञहरुको भनाई छ ।

जुम्लामा स्याउ उत्पादनले आर्थिक सम्भावनाको ढोका खोलिरहेको छ। गुणस्तरीय उत्पादनमा केन्द्रित किसानहरूले देश–विदेशसम्म बजार खोजिरहेका छन्। तर, बजार व्यवस्थापनमा राज्यको चासो र स्थानीय निकायको सक्रियता अभाव हुँदा किसान अझै पनि काँचो उत्पादन बेचेर छोटो समयको लाभ खोज्न बाध्य छन्।