सम्पादकीय : गगने खाेलाकाेे पहिराेले थुनिदिएकाे जुम्ली स्याउकाे भविष्य
जुम्ला :जुम्ला जिल्लाका लागि स्याउ जीविकाको मेरुदण्ड हो। तर, विडम्बना के छ भने हरेक वर्ष स्याउ उत्पादन भए पनि सडक अवरोध र पहिरोका कारण बजारसम्म पु¥याउन नसकी लाखौं रुपैयाँ बराबरको स्याउ कुहिन बाध्य भएको छ। किसानले पसिना बगाएर उत्पादन गरेका फल सडककै थुनामा नष्ट हुनु कर्णालीको मात्र होइन, राष्ट्रिय स्तरको गम्भीर समस्या हो।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष मात्रै करिब १३ करोड बराबरको १८४ मेट्रिक टन स्याउ बाटोमै रोकिएको छ। यहि भदौ १४ गते परेको भीषण वर्षापछि कालिकोटको खाडाचक्र नगरपालिका–२ स्थित गगने खोलामा राजमार्ग अवरुद्ध हुँदा २३ वटा स्याउ बोकेका गाडी थुनिए। यो पहिलो घटना होइन—गगने खोलामा दर्जनौँ पटक पहिरो गइसकेको तथ्य सर्वविदित छ।
प्रचारमा रमाउने सांसद, पीडित किसान
जुम्लाका सांसद र नेताहरू हरेक वर्ष काठमाडौमा ब्यापारिले लिएका स्याउ अर्गानिक स्याउ” भन्दै फोटो खिचेर सामाजिक सञ्जालमा प्रचारमा रमाउने गर्छन्। तर, दीर्घकालीन सडक निर्माणतर्फ उनीहरूको ध्यान पुगेको देखिँदैन। किसान भने स्याउ कुहिँदा घाटामा परिरहेका छन्, व्यापारीहरू ऋणको भारी बोकेर निराश छन्।
व्यापारीको संकट
चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार, स्याउ वा जटिबुडीको सिजनमा किसान तथा व्यापारीले सहकारीबाट ऋण लिनुपर्ने अवस्था हुन्छ। तर, वैकल्पिक सडक नभएकाले गगने खोलाको पहिराले बारम्बार व्यापारलाई घाटा पुर्याउने गरेको अनुभव उनी सुनाउँछन्। यसरी ऋण लिएर व्यवसाय सुरु गर्ने व्यापारीहरू सडक अवरोधकै कारण ऋणमा डुबिरहेका छन्।
अब वैकल्पिक बाटो अपरिहार्य
कर्णाली राजमार्ग, विशेषगरी जुम्ला खण्ड, निरन्तर पहिरोको चपेटामा रहँदै आएको छ। यसरी अवरुद्ध हुने बाटोमा मात्रै भर पर्नु किसान र व्यापारीका लागि आत्मघाती विकल्प हो। त्यसैले, अब जुम्ला–जाजरकोट मार्गलाई शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउन आवश्यक छ।
सरकार र संसदको जिम्मेवारी
अब सरकार र संसदलाई केवल अवलोकन भ्रमण गरेर फर्कने समय छैन। संसदीय टोलीले राजमार्ग स्थलगत अध्ययन गरी दीर्घकालीन समाधानसहितको प्रतिवेदन सरकारलाई बुझाउनुपर्छ। साथै, कर्णाली राजमार्गलाई दिगो बनाउन प्रयाप्त बजेट विनियोजन, गुणस्तरीय निर्माण र वैकल्पिक मार्गको निर्माण तत्कालै सुरु गर्नुपर्छ।
स्याउ केवल जुम्लाको पहिचान होइन, कर्णालीको अर्थतन्त्र उठाउने आधार हो। तर, हरेक वर्ष स्याउ सडकमै कुहिँदा किसानको सपना र श्रम दुवै क्षतिग्रस्त भइरहेका छन्। अब सांसदको फोटो प्रचारभन्दा बढी, किसानको जीवनरक्षा गर्ने दिगो पूर्वाधार निर्माण नै वास्तविक राजनीति हो। सरकार ढिलाइ नगरी अविलम्ब ठोस कदम चाली जुम्ली किसानको, उत्पादन सहजै विभिन्न शहरमा पुगाउनका लागि सडक पहिलो आबश्यकता हाे ।
गगनेमा २३ पटक पहिरो
कालिकोटकाे शुभकालिका–१ स्थित गगने खोलामा शनिबार राति गएको ठूलो पहिरोका कारण यातायात पूर्णरूपमा बन्द भएको हो।
रातो माटो र ठूलो ढुंगाले सडक पुरिएको हुँदा तत्कालै सफाइ गर्न कठिनाइ भएको छ। ट्राफिक प्रहरी कार्यालय मान्मका अनुसार असारयता मात्रै गगने खोलामै २३ पटक पहिरो खसि सकेको छ ।








