जिल्ला समन्वय समिति जुम्लाको हाताभित्र सकेट बम फेला
जिल्ला समन्वय समिति जुम्लाको हाताभित्र सकेट बम फेला परेको छ । आज बिहान पर्खाल निर्माण गर्ने क्रममा बम फेला परेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।
सकेट बम भेटिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगेका छन् । नेपाली सेनाको देविदत्त गण, जुम्लाबाट खटिएको बम निस्क्रियकरण टोलीले बम निष्क्रिय पार्ने तयारी गरिरहेको मेजर रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
फेला परेको सकेट बम पुरानो र खिया लागेको अवस्थामा रहेको छ । स्थानीयवासीहरूको अनुमानमा उक्त बम द्वन्द्वकालको हुन सक्ने सम्भावना छ ।
वि.सं. २०५८ साल कात्तिक २८ गते तत्कालीन विद्रोही नेकपा माओवादीले जुम्लामा आक्रमण गरेको थियो । फेला परेको बम सोही समयको हुन सक्ने अनुमान गरिएको छ ।









