मुगुमा व्यवसायिक तरकारी खेतीमा संलग्न चार महिला कृषक सम्मानित

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ९ मा व्यवसायिक तरकारी खेतीमा संलग्न चार जना महिला कृषकलाई सम्मान गरिएको छ।

गाउँपालिकाभित्रका तीन बस्तीमा २०७८ सालदेखि ‘छायाँ नेपाल’द्वारा महिला सशक्तीकरणका लागि जीविकोपार्जन कार्यक्रम सञ्चालन हुँदै आएपछि त्यहाँका महिलाहरू मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। सोही कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने चार जना महिलालाई पुरस्कार प्रदान गरिएको हो।

कार्मारोङ महिला कृषि सहकारी संस्थामा आबद्ध ८६ जना महिलाहरू हाल व्यवसायिक तरकारी खेतीमा सक्रिय छन्। छायाँ नेपालले तालिम, कृषि औजार, बिउबिजन तथा प्लास्टिक टनेल उपलब्ध गराएपछि उनीहरूले उत्पादन वृद्धि गर्दै राम्रो आम्दानी गर्न सफल भएका छन्। उत्कृष्ट आम्दानी गर्ने महिलाहरूलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो।

जीविकोपार्जन विज्ञ लोकेन्द्र रावलका अनुसार प्रतियोगितामा कमला बढुवाल प्रथम, नन्दा देवी रोकाया द्वितीय, जिरकला रोकाया तृतीय र बाँचुमता बुढा सान्त्वना स्थान हासिल गरेका छन्। उनीहरूलाई क्रमशः २० हजार, १५ हजार, १२ हजार र ८ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रथम स्थान हासिल गर्ने कमला बढुवालले व्यवसायिक तरकारी खेतीबाट मौसमी उत्पादनमार्फत वार्षिक करिब १ लाख रुपैयाँ र बेमौसमी तरकारीबाट यस वर्ष करिब ६० हजार रुपैयाँ आम्दानी भएको बताइन्। उनका अनुसार यही आम्दानीले घरखर्चदेखि बालबालिकाको शिक्षासम्म धानिएको छ। पुरस्कारले आफूलाई थप हौसला प्रदान गरेको उनले बताइन्।

छायल, चिमात र पापु गाउँका सहकारीमा आबद्ध महिलाहरूले उत्पादन गरेका तरकारीहरू छायल बजार, सहकारीको कोशेली घर, ताखा आवासीय विद्यालय तथा माग्री र मह गाउँमा बिक्री हुँदै आएका छन्। बजारको खास समस्या नरहेकाले महिलाहरू व्यवसायिक तरकारी खेतीतर्फ थप आकर्षित भएका छन्।

गाउँपालिकामा पहिले हरियो तरकारी पाउन निकै कठिन हुने गरेकोमा अहिले भने स्थानीय उत्पादन बढेसँगै उपलब्धता सहज भएको छ। यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा सुधार हुनुका साथै आयआर्जनमा पनि सकारात्मक प्रभाव परेको देखिएको छ।

मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास चन्द रावलका अनुसार आगामी दिनमा महिला सहकारीलाई थप तालिम, बिउबिजन तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइनेछ।

सम्बन्धित समाचार