सहारा बिनाकी सुत्केरी: मुगुकी महिलाको हृदयविदारक कथा
जुम्ला : मुगुको चिसो साँझ थियो। आकाशले बिस्तारै अँध्यारो ओढ्दै थियो, र तल गर्जिरहेको कर्णाली नदीले झन् डर थपिरहेको थियो। यही कठोर प्रकृतिको बीचमा, मुगुम कार्मारोङ गाउँपालिका ७ मह गाउँकी ३० वर्षीया साङमु लामा जीवनकै सबैभन्दा कठिन घडीसँग जुधिरहेकी थिइन्।
उनको शरीरमा केवल आठ महिनाको गर्भ मात्र थिएन, साथमा थियो पीडा, अन्याय र एक्लोपनको भारी। श्रीमानसँगको पारिवारिक विवाद, विगतका घाउ, अनि असुरक्षित यात्राले उनलाई त्यो दिन पूर्ण रूपमा एक्लो बनाइदिएको थियो। सदरमुकाम गमगढीबाट घर फर्किने क्रममा, च्याप्नेगाडको जोखिमपूर्ण भिरालो बाटोमा जब पीडाले असह्य रूप लियो, तब उनीसँग कुनै विकल्प बाँकी रहेन।
न त छेउमा कोही आफन्त, न सहयोगको हात। चारैतिर गहिरो अँध्यारो, तल उर्लिरहेको नदी, माथि कठोर ढुङ्गाको भीर। त्यही निर्जन ठाउँमा, आफ्नै सासको आवाजसँग लड्दै, साङमुले ढुङ्गामाथि आफ्नो सन्तानलाई जन्म दिइन्।
नवजात शिशु माटो र रगतले लत्पतिएको थियो। चिसोले निलो हुँदै गइरहेको सानो शरीर, तर आमा भने अझै हार मान्न तयार थिइनन्। आफ्नै पीडा भुलेर उनले बच्चालाई अँगालोमा च्यापिन्,त्यो अँगालो नै त्यो शिशुको पहिलो सुरक्षा थियो, पहिलो न्यानोपन।
त्यस क्षणमा उनले मोबाइल समातिन्। काँपिरहेको हातले छायल बजारमा भएकी साथीलाई फोन गरिन्। त्यो एउटा फोन केवल खबर थिएन,त्यो जीवन बचाउने अन्तिम प्रयास थियो।
खबर पाउनासाथ स्वास्थ्यकर्मी र प्रहरी दौडिए। बाटो कठिन थियो, समय सीमित। करिब एक घण्टाको संघर्षपछि उद्धार टोली त्यहाँ पुग्दा दृश्य हृदयविदारक थियो।आमा पसिना र रगतले भिजेकी, शिशु चिसोले निसास्सिँदै .. तर दुवै अझै संघर्षरत।
समयमै गरिएको उद्धारले उनीहरूलाई छायल प्रसूति केन्द्र पुर्याइयो। शिशुको अवस्था गम्भीर भएकाले तुरुन्तै जिल्ला अस्पताल रिफर गरियो। चार घण्टाको उकालो,ओरालो यात्रा, कमजोर शारीरिक अवस्था,अनि बीचमा न कुनै सुविधा तर पनि उनीहरू हार मानेनन्।शिशु आईसियुमा जीवनसँग जुधिरहेको छ, आमा सामान्य अवस्थामा फर्किँदैछिन्।
यो केवल एउटा घटना होइन। यो कथा हो।एक आमाको अदम्य साहसको। यो यथार्थ हो।दुर्गम भेगका महिलाले भोग्नुपरेको पीडा र अभावको र यो प्रश्न पनि हो।राज्य कहाँ छ?जब एक आमा ढुङ्गामाथि बच्चा जन्माउन बाध्य हुन्छिन्। त्यस्तै अहिले पनि मुगु,र जुम्लाका धेरै गर्भवती तथा साना बालबालिकालाई संगै लिएर पाटनमा यार्सागुम्बा टिप्न जाने गरेकाे पाईन्छ ।
साङमु लामाको कथा केवल सुन्नका लागि होइन, महसुस गर्नका लागि हो।किनकि जबसम्म यस्तो पीडा दोहोरिरहन्छ, तबसम्म विकासका कुरा केवल कागजमै सीमित रहनेछन्।









