जुम्लामा निःशुल्क सप्तदिवसीय योग ध्यान शिविर सञ्चालन हुने

जुम्ला :चन्दननाथ योग साधना केन्द्र जुम्लाले आगामी वैशाख १५ गतेदेखि जुम्ला बजारस्थित टुडिखेल मैदानमा निःशुल्क सप्तदिवसीय योग तथा ध्यान शिविर सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त शिविर वैशाख २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

शिविरमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग तथा ध्यान अभ्यास गराइनेछ। आयोजकका अनुसार जुम्ला जिल्लाका योगप्रेमी तथा सर्वसाधारण नागरिकलाई सहभागी भई स्वास्थ्य लाभ लिन आग्रह गरिएको छ।

शिविरअन्तर्गत दक्ष योग गुरुबाट हवन चिकित्सा सहित योग अभ्यास, जडीबुटी युक्त काँडा तथा सिलाजित सेवन, साथै निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। स्वास्थ्यकर्मीमार्फत रक्तचाप (प्रेसर), मधुमेह (सुगर) जाँच, उचाइ तथा तौल मापन र स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श दिइने कार्यक्रम रहेको छ।

त्यसैगरी, व्यक्तिगत सरसफाइ प्रवर्द्धनका लागि निःशुल्क दाह्री तथा कपाल काट्ने व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ। सहभागीलाई विभिन्न गेडागुडीबाट तयार गरिएको क्वाँटी तथा अमृत भोजन सेवन गराइनेछ भने शिविर समापनपछि योग साधना केन्द्रको हलमा सर्वाङ्ग शुद्धीकरण कार्यक्रम (जलनेती, कुञ्जल, शंखप्रक्षालन र बाफ मसाज) समेत सञ्चालन गरिनेछ।

यसका साथै च्यवनप्राश लगायत शरीरलाई आवश्यक पर्ने विभिन्न टनिकहरू वितरण गरिने जनाइएको छ। शिविरको समन्वय चन्दननाथ नगरपालिकाले गर्नेछ भने आयोजनाको जिम्मेवारी चन्दननाथ योग साधना केन्द्र जुम्लाले लिएको छ।थप जानकारीका लागि सम्पर्क नम्बर ९८६३१६२७७८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।