तिज खर्चिलो र भड्किलो बनाउनु हुँदैन : चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्का
जुम्ला:चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले तिज पर्वलाई भड्किलो र खर्चिलो बनाउने प्रवृत्ति गलत भएको बताउँदै यसलाई संस्कार, साधना र समानताको पर्वका रूपमा मनाउन सबै महिलालाई आग्रह गरेकी छिन्।
चन्दननाथ याेग साधना केन्द्रद्वारा आयोजित तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर खड्काले यस्ताे बताएकी हुन । उनले भनिन्, “तिज आत्मबल, अध्यात्म र वैवाहिक सम्बन्धको सुदृढीकरणका लागि मनाइने पर्व हो। तर पछिल्लो समय देखिएको देखावटी, फजुल खर्च र भड्किलोपनले यसको मूल उद्देश्यलाई ओझेलमा पार्दै लगेको छ।
उपमेयर खड्काले महिलाहरूलाई स्वास्थ्य, आत्मनिर्भरता र सामाजिक चेतनासँग जोडिने अवसरको रूपमा तिज पर्वलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्,“नाचगान, रमाइलो आफ्नै ठाउँमा हो। तर अत्यधिक गरगहना, साङ्ला खर्च र अनावश्यक प्रतिस्पर्धाले महिला माथि आर्थिक र सामाजिक दबाब सिर्जना गरेको छ।उनले साे कार्यक्रममा बोल्दै उनले तिजलाई महिला सशक्तिकरण, लैंगिक समानता, र सामाजिक सुधारको सन्देश बोकेको पर्वको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले थपिन,
“तिजको गीत–सङ्गीत, नाचगान र कार्यक्रममार्फत महिलाले आफ्ना पीडा, आशा र अधिकारको आवाज उठाउन सक्ने थलो बनाउनु पर्छ। त्यो भन्दा ठूलो परिवर्तन अरु केही हुन सक्दैन।
नगरपालिकाको आग्रह
चन्दननाथ नगरपालिकाले तिजको अवसरमा भड्किलोपन हटाउँदै साधारण, आत्मीय र समावेशी ढंगले पर्व मनाउन सबै नगरवासी महिलालाई अनुरोध गरेको छ। नगरपालिकाले तिजलाई अवसरका रूपमा लिएर महिला सशक्तिकरण सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।
उपमेयर रामदेवी खड्काको भनाइले तिज पर्वको सांस्कृतिक मौलिकता जोगाउँदै सामाजिक सन्देशलाई अघि सार्ने आवश्यकता औंल्याएको छ। तिज केवल रमाइलोको पर्व होइन, यो संस्कार, चेतना र परिवर्तनको माध्यम बन्नुपर्छ भन्ने उनको स्पष्ट सन्देशलाई यश पटक बाट सबै महिलाले आत्मसात् गर्नुपर्ने आश्यकता देखिएकाे छ ।









