कनकासुन्दरी गाउँपालिका LISA मूल्याङ्कनमा जुम्ला जिल्लाकै प्रथम
जुम्ला:आर्थिक वर्ष २०८०/०८१ का लागि गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाभरि पहिलो स्थान हासिल गरेको छ।
कुल ८२ अंक प्राप्त गर्दै कनकासुन्दरीले जिल्लाका अन्य सातवटा स्थानीय तहहरूलाई पछि पार्दै संस्थागत क्षमता मूल्याङ्कनमा अग्रस्थान सुरक्षित गरेको हो। यो उपलब्धि कनकासुन्दरी गाउँपालिकाले अपनाएको प्रभावकारी प्रशासनिक अभ्यास, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयन क्षमताको प्रतिफलको रूपमा हेरिएको छ।
अन्य पालिकाहरूको मूल्याङ्कन विवरण
त्यस्तै तातोपानी गाउँपालिका – ८०.७५ अंक दोस्रो स्थानमा रहेकाे छ । भने हिमा गाउँपालिका – ७५.५० अंक तेस्रो स्थानमा रहेकाे छ । चन्दननाथ नगरपालिका ७४.५० अंक चौथो स्थानमा रहेकाे छ । त्यस्तै सिंजा गाउँपालिका – ६७.७५ अंक ल्याएकाे छ, भने तिला गाउँपालिका – ६६.२५ अंक रहेकाे छ । त्यस्तै पातारासी गाउँपालिका – ६३.५० अंक रहेकाे छ, भने गोठिचौर गाउँपालिका – ६०.८५ अंक ल्याएकाे छ ।
LISA मूल्याङ्कन के हो ?
LISA (Local Institutional Self-Assessment) कार्यक्रमको उद्देश्य स्थानीय तहहरूमा शासकीय प्रणाली, सेवा प्रवाह, विकास व्यवस्थापन, र नीतिगत अभ्यासहरूका आधारमा संस्थागत क्षमता मापन गर्नु हो। यस मूल्याङ्कनले स्थानीय सरकारहरूको आफ्नै कमजोरी र सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्न सहयोग पुर्याउँछ।
त्यस्तै, स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा उत्पन्न गराउँदै उत्तरदायित्व र पारदर्शिता बढाउने लक्ष्य पनि यस कार्यक्रमको रहेको छ।
नतिजा परीक्षण र सार्बजनिकरण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूबाट प्रस्तुत गरिएको स्वमूल्याङ्कनलाई गुणस्तरीय परीक्षण गरेर अन्तिम नतिजा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार, मूल्याङ्कन नतिजाहरूलाई आगामी आवधिक समीक्षाको आधार बनाई सुधारात्मक रणनीति तयार गर्न सहयोग पुर्याइनेछ।
त्यस्तै जिल्लामै पहिलो स्थान प्राप्त गर्नु कनकासुन्दरी गाउँपालिकाका लागि सिर्जनात्मक र उत्तरदायी प्रशासनमा थप उर्जा थप्ने अवसर भएको बताइएको कनका सुन्दरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र बहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले जनताको हितमा नीति निर्माण, बजेट व्यवस्थापन, सेवा प्रवाह तथा सहभागी शासन प्रक्रियामा दिएको प्राथमिकता र प्रतिबद्धताको परिणाम यस रूपमा देखिएको हो।
यस उपलब्धिलाई आगामी दिनहरूमा अझ स्थायी र समावेशी विकास लक्ष्य प्राप्तितर्फ केन्द्रित गर्दै समृद्ध कनकासुन्दरीको यात्रामा थप प्रेरणा बन्ने अपेक्षा गरिएको कनका सुन्दरी गाउपालिकाकाे प्रतिबद्दता गरेकाे छ ।
LISA मूल्याङ्कनले देखाएको सफलताले कनकासुन्दरी गाउँपालिकालाई नजिक भविष्यमा नीति निर्माणदेखि जनसेवा सुधारसम्मका क्षेत्रमा अझ सशक्त र जिम्मेवार बनाउने संकेत गरेकाे छ । यो उपलब्धि केवल संख्यात्मक हैन, गुणात्मक रुपमा पनि स्थानीय सरकारको सफलता र जनताको विश्वासको प्रतिबिम्ब हाे ।








