ब्रह्मा कुमारी विश्व विद्यालय जुम्लामा तीज मिलन कार्यक्रम :उपहार बितरण सहित ‘ज्ञान गुनको सन्देश प्रदान


जुम्ला : हरितालिका तीजको अवसरमा ब्रह्मा कुमारी विश्व विद्यालय, शाखा कार्यालय जुम्लाद्वारा आयोजित विशेष तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरूलाई आध्यात्मिक सशक्तिकरण, नारी चेतना, तथा संस्कार निर्माण सम्बन्धी सन्देश प्रदान गरिएको थियो।


कार्यक्रममा सहभागी महिलाहरूलाई स्नेहपूर्वक टिका, प्रसाद र श्रृंगारिक उपहार (काँठा) वितरण गरिएको थियो। आयोजक संस्थाका अनुसार यस किसिमका उपहारहरूले आत्मसम्मान, आपसी माया र सामाजिक सद्भाव सुदृढ पार्ने विश्वास लिइएको छ।


कार्यक्रमको मुख्य भागमा ब्रह्मा कुमारी जुम्लाका प्रतिनिधिहरूले ‘ज्ञान र गुन’ विषयमा विशेष प्रवचन दिँदै महिलाहरूलाई सकारात्मक सोच, आत्मनियन्त्रण, सहनशीलता, शान्ति, प्रेम र सत्यता जस्ता आध्यात्मिक गुणहरू आत्मसात गर्न प्रेरणा प्रदान गरे। उनीहरूले तीज पर्वलाई केवल नाचगान र भोजनको उत्सव मात्र नभई, आत्मचिन्तन, आत्मशुद्धि र आध्यात्मिक उन्नतिको अवसरका रूपमा लिनु पर्ने उल्लेख गरे। कार्यक्रममा शान्तिपूर्ण र सांस्कृतिक वातावरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले आत्मिक उन्नति र आन्तरिक सशक्तिकरणको अनुभव गरेका छन्।


कार्यक्रमको अन्त्यमा सहभागीहरूले ब्रह्मा कुमारी परिवार प्रति आभार प्रकट गर्दै, यस्ता सकारात्मक ऊर्जा प्रदान गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको बताएका थिए।

ब्रह्मा कुमारी विश्व विद्यालय, जुम्ला शाखा रक्तदान लगायत विभिन्न सामाजिक सेवा कार्यहरूमा सक्रिय रहेको छ। संस्थाले आध्यात्मिक शिक्षा मार्फत व्यक्तित्व विकास, सकारात्मक सोच, नैतिक र सात्विक जीवनशैलीको प्रवद्र्धन गर्दै आएको छ। शाकाहारी भोजन, नशा परित्याग र ब्रह्मचर्य जीवनशैली लाई संस्थाले प्रोत्साहन गर्दै आएको छ।


यस्तै, समाजमा महिला सशक्तिकरणको क्षेत्रमा समेत संस्था अग्रसर रहँदै आएको छ। महिलाहरू नेतृत्व भूमिकामा रहेर शिक्षा, शान्ति र सामाजिक सेवामा सक्रिय छन्। संस्थाद्वारा तनाव व्यवस्थापन, पारिवारिक समृद्धि, आत्म–सुधार र विश्व शान्ति जस्ता विषयमा सेमिनार, कार्यशाला तथा सार्वजनिक कक्षाहरू समेत सञ्चालन हुँदै आएका छन्।