बहुविवाहको वैधानिकीकरण प्रयासप्रति अनेम संघ (क्रान्तिकारी)को कडा आपत्ति, मस्यौदा खारेजको माग

जुम्ला:नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाह सम्बन्धी कानुनी प्रावधानमा संशोधन गर्दै केही निश्चित परिस्थितिमा बहुविवाह गर्न पाइने व्यवस्था गर्न लागेको भन्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी), जिल्ला समन्वय समिति जुम्लाले कडा आपत्ति जनाएको छ।कानुन मन्त्रालयका सचिव पराश्वर ढुङ्गानाको भनाइ उद्धृत गर्दै विभिन्न संचारमाध्यमहरूमा सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण जनाउँदै अनेम संघ (क्रान्तिकारी) ले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावित मस्यौदा तत्काल खारेज गर्न सरकारलाई चेतावनी दिएको छ।

संघकी इन्चार्ज लक्ष्मीकन्या बुढा र अध्यक्ष हिमाली धितालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “बहुविवाहलाई वैधानिकता दिने प्रयास नेपालको संविधान, महिला अधिकार र लैंगिक समानताको मर्मविपरीत छ। यसले महिलामाथि हुने हिंसा, उत्पीडन र असमानतालाई संस्थागत गर्नेछ।”

ज्ञापनपत्रमा स्पष्ट उल्लेख छ कि संविधानले बहुविवाहलाई अपराध मानेको अवस्थामा त्यसलाई पुनः मान्यता दिन खोज्नु प्रतिगामी कदम हो र महिला आत्मसम्मान तथा गरिमामाथिको ठुलो प्रहार हो। संघले यदि सरकारले प्रस्तावित मस्यौदा फिर्ता नगरे संघर्षको मार्ग अवलम्बन गर्ने चेतावनी पनि दिएको छ।

अनेम संघ (क्रान्तिकारी) ले आफ्नो स्थापना कालदेखि नै बहुविवाह जस्ता सामाजिक कुप्रथाहरूको विरुद्धमा संघर्ष गर्दै आएको भन्दै अब पनि उक्त प्रथा विरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको जनाएको छ।

संघले सरकारसँग महिला न्याय, समानता र सम्मानको पक्षमा उभिन आग्रह गर्दै प्रस्तावित बहुविवाहसम्बन्धी कानुनी मस्यौदा अविलम्ब खारेज गर्न जोडदार माग गरेको छ।