महिलाले नेतृत्व गरेको ज्ञान ज्योति आधारभुत विद्यालयको उदाहरणीय कार्य (फोटो फिचर )

जुम्ला : समाजमा अझै पनि “महिलाले नेतृत्व गर्न सक्छन् त?“ भन्ने प्रश्न उठिरहन्छ। तर जुम्लाको तिला गाउँपालिका–४ मा अवस्थित ज्ञान ज्योति आधारभूत विद्यालय ले यो प्रश्नको उत्तर मात्र दिएको छैन, एक प्रेरणादायक उदाहरण समेत प्रस्तुत गरेको छ।

उक्त विद्यालयको व्यवस्थापन समिति नाै जना महिलाले मात्रै गठन गरेपछि विद्यालयमा उल्लेखनीय परिवर्तन भएको छ। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धनलक्ष्मी धितालका अनुसार विद्यालय पहिले खुला, अस्तव्यस्त र बेवास्तामा थियो। तर अहिले वातावरण नै परिवर्तन भइसकेको छ। “महिला नेतृत्वले अनुशासन, पारदर्शिता र समर्पणका साथ काम गरेको उनले बताइन्।
धितालका अनुसार यस अघि समितिमा सबै पुरुष थिए। तर महिलाहरूले नेतृत्वको माग गरेपछि स्थानीय समाजले विश्वास व्यक्त गर्दै जिम्मेवारी सुम्पिएको थियो। “हामी सातै जना महिला छौँ,”उनी भन्छिन्, “बालबालिकाको शिक्षाको जग बलियो बनाउने हाम्रो मुख्य लक्ष्य हो। विद्यालयमा अहिले बालमैत्री कक्षा, नियमित निगरानी, सरसफाइ र सुरक्षित वातावरण निर्माणमा उल्लेखनीय प्रगति भएको छ।

व्यवस्थापन समितिकी सचिव माग्ली शाही भन्छिन्,“महिलाले पनि जिम्मेवारी पाए उत्कृष्ट काम गर्न सक्छन् भन्ने सन्देश हामीले समाजलाई दिएका छौं। उनका अनुसार विद्यालयको घेराबार निर्माण, कक्षाको स्तरीयता, सिकाइ गुणस्तर सुधार लगायतका काममा प्रभावशाली सफलता मिलेको छ। समितिले वडास्तरको बजेट र प्रदेश सरकारको प्रधानमन्त्री कार्यक्रमको सहयोगबाट विद्यालयलाई व्यवस्थित र आकर्षक बनाएको हो।
स्थानीय अभिभावकहरू पनि विद्यालयको रूपान्तरणबाट खुसी छन्। एक अभिभावकले भने, “पहिले यस्तो सफा र व्यवस्थित थिएन। अहिले त छोराछोरीको पढाइ नै राम्रो भएको छ। महिला नेतृत्व साँच्चिकै असरदार रहेछ।” उनी भन्छन अवसर पाए महिलाले पनि नेतृत्वमा उदाहरणीय काम गर्न सक्ने रहिन्छन ।

त्यस्तै महिलाले मात्र नेतृत्व गरेको विद्यालय व्यवस्थापन समितिले समाजमा महिलाको सहभागिता र क्षमता प्रति नयाँ दृष्टिकोण स्थापित गरेको छ। यसैले अबका दिनमा स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई पनि महिला नेतृत्वलाई प्रोत्साहित गर्ने आवश्यकता प्रति सचेत गराएको छ।









