पत्रकारिताको पवित्र मञ्च जब शक्तिको सिकार बन्छ ?
पत्रकारितालाई चौथो अंग भनिन्छ न्याय, सत्य र जनताको पक्षमा उभिने एक अदृश्य बल, जसले अधिकारविहीनका आवाज बन्ने जिम्मा लिएको हुन्छ । जब कलमविरुद्ध षड्यन्त्रको काँडेतार बिछ्याइन्छ, तब प्रश्न उठ्छ के पत्रकारिताको मूल्य मुनाफा, पहुँच र प्रतिशोधका सिकार त हुँदै छैन? पत्रकारिता—त्यो माध्यम हो जसले समाजका आवाजविहीनलाई आवाज दिन्छ, शक्तिशालीलाई जवाफदेही बनाउँछ, र सत्यलाई जनसमक्ष ल्याउँछ। तर जब यही पवित्र मञ्चमा बसेका सत्य खोजी गर्नेहरू नै शक्तिका सिकार बन्न थाल्छन्, तब प्रश्नहरू गहिरो बन्छन के अब सत्य लेख्नै अपराध हो?
जब प्रश्न गर्नेलाई प्रश्नको उत्तर दिनुपर्छ
साँचो पत्रकारिताको धर्म हो– प्रश्न गर्नु। व्यवस्था, नीतिगत निर्णय, सार्वजनिक स्रोतको उपयोग, र जनताको हकहितमाथि नजर राख्नु पत्रकारको कर्तव्य हो। तर अहिलेको समय यस्तो छ, जहाँ प्रश्न गर्ने पत्रकारलाई नै प्रश्नको कठघरामा उभ्याउने चलन बढ्दो छ।
जब पत्रकारिताको धर्म अनुसार कसैले शक्तिका विरुद्ध बोल्छ, अनियमितता उजागर गर्छ, वा गलत कार्यको भण्डाफोर गर्छ, त्यहीँबाट सुरु हुन्छ उस माथि आक्रमणको चक्र। उसलाई बदनाम गरिन्छ, उसमाथि मुद्दा हालिन्छ, चरित्र हत्या गरिन्छ। अनि आजको यथार्थ यही छ—प्रश्न गर्नेहरू आफैँ ‘गलत’ प्रमाणित गरिन्छन्।
पत्रकारिता कि प्रतिशोधको माध्यम?
अझ खतरनाक स्थिति तब देखिन्छ, जब पत्रकारिता गर्नेहरूकै बीचबाटै साँचो पत्रकारमाथि हमला सुरु गर्दछन । कुनै संस्थाको नीतिगत कमजोरी वा पदाधिकारीको दुराचारमाथि रिपोर्ट लेख्ने पत्रकारलाई बदला स्वरूप कानुनी फन्दामा पारिन्छ, सामाजिक रुपमा बहिष्कृत गरिन्छ। र यो सबै प्रायः “पत्रकारको आवरण ओढेका पहुँचवालाहरू“को सहकार्यमा हुन्छ।त्यस्तो अवस्थामा पत्रकारिता आफ्नो धर्म बिर्सेर प्रतिशोधको हतियार बन्छ। जहाँ तथ्य होइन, भावना हाबी हुन्छ; सत्य होइन, सम्बन्ध हावी हुन्छ।
शक्तिको संरक्षण, सत्यको सजाय?
धेरैजसो अवस्थामा यस्तो देखिन्छ कि जो साँचो कुरा उठाउँछ, उनीहरूलाई“शक्तिशाली संरचनाबाट प्रत्यक्ष–अप्रत्यक्ष दबाब आउँछ। कहिले राजनीतिक पहुँच, कहिले आर्थिक स्रोत, त कहिले समाजिक हैसियतमार्फत। यसैबीच, पत्रकारिताको मूल आत्मा—जनताप्रति उत्तरदायित्व—कता हराउँछ, थाहा नै हुँदैन। के पत्रकारिता अब सत्य होइन, सधैँ ‘संगत’ खोज्ने माध्यम मात्र बनिसकेको हो?आजको समय सत्यको साथमा उभिन कठिन छ। तर यो समय नै हो, जसले साँचो पत्रकारको मूल्य मापन गर्छ। जसले चुनौतीको सामना गर्दै पनि कलम नछोड्नेहरूलाई चिन्हारी दिन्छ।
पत्रकारिताको पवित्र मञ्च अझै बाँकी छ, तर उसलाई बचाइराख्न सत्य बोल्ने, गलतविरुद्ध लेख्ने, र निर्भीक रहने पत्रकारहरूको साथ अनिवार्य छ। प्रश्न गर्नेहरूलाई गलत प्रमाणित गर्ने यो प्रवृत्तिको अन्त्य हामी सबैले खोज्नैपर्छ—नत्र सत्य, न्याय र पत्रकारिता तीनै चुप लाग्न बाध्य हुन्छन्।मैले पत्रकारितालाई सधैं सत्य र न्यायको आवाजको रूपमा बुझेँ । सत्तासँग होइन, सत्यसँग सहकार्य गर्ने अठोट लिएर पत्रकारिता सुरु गरेँ । मलाई थाहा थियो, सत्य लेख्दा सबैलाई मन पर्ने छैन खासगरी ती व्यक्तिहरूलाई, जसको लाभ असत्यमा लुकेको हुन्छ ।
समाजमा जो प्रभावशाली छन्, जसको पहुँच छ, उनीहरूको विषयमा कलम चलाउँदा तीव्र प्रतिक्रिया आउनु अस्वाभाविक होइन । तर त्यति मात्र होइन,ममाथि व्यक्तिगत प्रतिशोधको भावले भरिएका पत्रकारिता आचरणविरुद्धका गतिविधिहरू सुरु भए । उनीहरू जसले आफूलाई पत्रकारिता क्षेत्रको संरक्षक भनेर चिनाउँछन्, उनीहरूकै अग्रसरतामा मलाई बद्नाम गर्ने, मानसिक तनाव दिने, र कानुनी झमेलामा पार्ने प्रयास भए ।भट्टी पसलमा गरेको मेरो चरित्रमाथी प्रहारको एक दिन हिसाब किताब होला ।
तत्कालीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतलाई अघि सार्दैमलाई साइबर अपराधमा मुद्दा लगाउने योजना बनाए,अनि तिनै मुद्दामा आफै साक्षी बनेर प्रहरी उपस्थित भएर घटना बिवरण कागज गरे । हुनत, उनीहरूको उद्देश्य स्पष्ट थियो“मलाई एक दिनमा भएपनी प्रहरी हिरासतमा राखियोस हामीले प्रकाउ परी भनेर समाचार लेखुला भनेर ।त्यो इच्छा अधुरै रह्यो ।
न्यायालयमा दुबै पक्षको कानुनी प्रक्रिया अगाडि बढेको छ, जसले सत्य के हो भन्ने प्रमाणित गर्ने छ ।यी सबैबाट म विचलित छैन । मैले कलम समात्दा सत्यका पक्षमा खडा हुने अठोट गरेको थिएँ, जुन आज पनि ज्यूँका त्यूँ छ । मलाई थाहा छ, समाजमा गरिब, निमुखा र आवाजविहीनहरूको पक्षमा उभिँदा, त्यसले केहीलाई चित्त दुख्छ, जलन हुन्छ । तर त्यो जलनबाट म पछि हट्दिन ।
किनकि पत्रकारिता मलाई व्यक्तिगत हैसियत होइन, सामाजिक जिम्मेवारी हो भनेर बुझाउँछ । साँचो पत्रकारिता सधैं सवाल गर्छ, सत्तालाई होइन, समाजलाई जवाफदेही बनाउँछ । र यही यात्रामा मलाई जहाँजस्तो बाधा आए पनि, म अडिइरहनेछु ।तीन पत्रकारहरूको एउटा साझा योजनाबद्ध प्रयास थियो, जसको एक मात्र लक्ष्य थियो । दिलमाया शाहीलाई एक दिन भएपनि प्रहरी हिरासतमा पु¥याउने।
मैले उठाएका प्रश्नहरू विशेषतः सार्वजनिक संस्थामा भएको अनियमितता र शक्तिको दुरुपयोगविरुद्ध लेखिएका रिपोर्टहरू ती पत्रकारहरूको स्वार्थसँग टकरिएको थियो ।
त्यसैले उनीहरूले खबर लेख्न लगाएर होइन, कानुनी फन्दामा फसाउने खेल खेले । अझ रोचक त के भने, सोही मुद्दामा तीनै जना पत्रकार स्वयं “साक्षी”को भूमिकामा प्रस्तुत भए । यावसायिक पत्रकारिताको आधारभूत मूल्य—निष्पक्षता, तथ्य र मर्यादित आलोचनात्यहाँ हराएको देखिन्छ । यसको सट्टा व्यक्तिगत रिसइवी र जलनको भावनाले ठाउँ लिएको छ, जुन पत्रकारिताको आत्मालाई नै कलंकित गर्ने प्रवृत्ति हो ।ती पत्रकारहरूको हिरासतको ‘इच्छा’ अधुरै रह्यो किनभने पत्रकारिता कुनै अपराध होइन, सत्यको सेवा हो ।
र सत्य सधैं अडिन्छ, जति बेला लागे पनि ।यो घटनाले गम्भीर बहस उठाएको छः जब पत्रकारहरू आफैँ पत्रकारिताको मर्यादा मिच्दै प्रतिशोधको मार्ग अँगाल्छन्, तब सत्यको खोजी कसले गर्छ? कसले बोल्ने ती आवाजविहीनहरूको तर्फबाट? कसले लेख्ने शक्तिका विरुद्ध? हामीले आज एउटा सत्य गर्ने पत्रकारलाई हिरासतमा देख्न चाहियो भने, भोलि त्यो अवस्थाबाट हामी स्वयं पनि अछूतो रहनेछौं भन्ने बिसीसेकेका छन । पत्रकारिताको मञ्च सचेत रहनुपर्छ नत्र सत्य लेख्ने कलमहरू कलंकित हुने डर बढ्दै जान्छ ।
लेखक उही निर्भया








