जुम्लामा निशुल्क योग तथा ध्यान शिविर सुरु
जुम्ला चन्दननाथ नगरपालिका जुम्ला र चन्दननाथ योग साधना केन्द्र जुम्लाको आयोजनामा जुम्लाको टुडिखेल मैदानमा निशुल्क भक्तिमय वृहत्त योग तथा ध्यान शिविर सुरु भएको छ।स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविर वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ।शिविरमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग तथा ध्यान अभ्यास गराइनेछ।
आयोजकका अनुसार शिविरमा सहभागीहरूलाई दक्ष योग गुरुबाट योग अभ्यासका साथै हवन चिकित्सा, जडीबुटी युक्त काँडा तथा सिलाजित सेवन गराइनेछ। त्यस्तै, निःशुल्क स्वास्थ्य परीक्षणअन्तर्गत रक्तचाप, मधुमेह ९सुगर० जाँच, उचाइ तथा तौल मापन र स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श सेवा प्रदान गरिँदैछ।
यसका लागि दुईवटा स्वास्थ्य जाँच स्टेसनसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। व्यक्तिगत सरसफाइ प्रवर्द्धनका लागि निःशुल्क दाह्री तथा कपाल काट्ने सेवा पनि उपलब्ध गराइएको छ।
शिविरमा सहभागीलाई गेडागुडीबाट तयार गरिएको क्वाँटी तथा अमृत भोजन वितरण गरिँदै आएको छ। साथै, योग साधना केन्द्रको हलमा जलनेती, कुञ्जल, शंखप्रक्षालन तथा बाफ मसाज जस्ता सर्वाङ्ग शुद्धीकरण कार्यक्रम सञ्चालन भइरहेका छन्। शरीरलाई आवश्यक पर्ने विभिन्न टनिकहरू पनि वितरण गरिने जनाइएको छ।
शिविरको समन्वय चन्दननाथ नगरपालिकाले गरेको छ भने आयोजनाको जिम्मेवारी चन्दननाथ योग साधना केन्द्र जुम्लाले लिएको छ। शिविरको पहिलो दिन जिल्ला समन्वय समिति, प्रशासन, प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग तथा सामाजिक विकास कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आयोजकले जुम्ला जिल्लाका योगप्रेमी तथा सर्वसाधारण नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन आग्रह गरेको छ।










