जुम्लाको कार्की वाडामा ‘हाम्रो साझाँ कपडा बैंक’ सञ्चालन, विपन्न परिवारलाई राहत पुग्ने

चन्दननाथ नगरपालिका–५ को  कार्की वाडामा ‘हाम्रो साझाँ कपडा बैंक’को औपचारिक सञ्चालन गरिएको छ। राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला इञ्चार्ज बलराम नेपाली, दलित मुक्ति मोर्चाका जुम्ला अध्यक्ष चन्द्रबिर नेपाली (अभिषेक) लगायत दलित युवाहरूको साझा पहलमा कपडा बैंक स्थापना गरिएको हो।
सञ्चालकहरूको अनुसार, यो बैंक आर्थिक रूपमा कमजोर, विपन्न तथा विपद् प्रभावित परिवारहरूलाई निःशुल्क लुगा वितरण गर्ने उद्देश्यले स्थापना गरिएको हो।

कपडा बैंकको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले गरेका थिए। उनले सर्वसाधारणले प्रयोग गर्न मिल्ने अवस्थामा रहेका लुगा स्वेच्छाले दान गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार, संकलित लुगाहरूलाई सफा गरी वर्गीकरण गरेर आवश्यकता भएका व्यक्तिहरूलाई वितरण गरिने छ। उनले व्यक्तिगत रूपमा पनि कपडा दान दिने प्रतिवद्धता व्यक्त गरे।

राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला इञ्चार्ज बलराम नेपालीले भने, “कसैको अल्मलिएर बसेको लुगाले अरू कसैको आवश्यकता पूरा हुन सक्छ भने यस्तो परोपकारी कार्य किन नगर्ने? हामीले यही सोचेर यो अभियान सुरु गरेका हौं।”उनले आगामी दिनमा यस अभियानले समुदायमा परोपकार र सहयोगको भावना थप बढाउने विश्वास व्यक्त गरे।

चन्दननाथ–५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले कपडा बैंकको सुरुआत सकारात्मक रहेको बताए। उनले यस्ता अभियानहरूले सामाजिक सद्भाव र समावेशिता लाई बल पुग्ने धारणा व्यक्त गरे। साथै, वडा र नगरस्तरीय प्रतिनिधिको हैसियतले आगामी दिनमा यो कार्यक्रमलाई नगरपालिका स्तरसम्म विस्तार गर्न स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता जनाए।‘हाम्रो साझाँ कपडा बैंक’ प्रत्येक दिन बिहान ७ बजेदेखि साँझसम्म खुला रहनेछ। इच्छुक दाताहरूले प्रयोग गर्न मिल्ने लुगा दान गर्न सक्ने छन्।

कपडा बैंकको सञ्चालनमा बलराम नेपाली, अभिषेक नेपाली, कृष्ण बहादुर विक, ज्ञान बहादुर विक, धनराज सुनार, पदम सिंह सुनार, कलिमान सुनार, मंगला विश्वकर्मा, उर्मिला सुनार, परिलाल सुनार र संझना कुलाल सहजकर्ता तथा सञ्चालकको रूपमा संलग्न छन्।

कपडा दान गर्ने दाताहरूमा नगरपालीकाका मेयर राजुसिहं कठायत ,दिलमाया शाही (पत्रकार), मंगला विश्वकर्मा, बलराम नेपाली, जीपी स्टेशनरी (गणेश रोकाया), कृष्ण सुनार, कलिमान सुनार, अनिल रोकाया, आन्नद अधिकारी, गोमा नगरकोटी, सुवास सुज सेन्टर, नम्रता पुरकोटी र मनोज बुढाथोकी मगर रहेका छन्।

सम्बन्धित समाचार