जुम्ला जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
जुम्ला :स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता आधारित पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित जुम्ला जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्दै दिगोपन कायम गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा र जिल्ला समन्वय समितिको अगुवाइमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका लगायत विभिन्न तहका सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

त्यस्तै, चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले स्थानीय जनप्रतिनिधिहरूले खोपबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित खोप सेवामा समुदायको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।
उनले भने,“अब जिल्लाका सबै बालबालिकाले अनिवार्य खोप प्राप्त गरिसकेको प्रमाणित भइसकेको छ। अब यसको दीगो सुनिश्चितताका लागि स्थानीय स्रोतको परिचालन, स्वामित्व र सहभागितालाई प्राथमिकता दिइनेछ।
खोप व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले समेत खोप कार्यक्रमबारे धारणा राखे । उनले यसको निरन्तरताका लागि दीर्घकालीन सोच र समन्वय आवश्यक रहेको उल्लेख गरे।
त्यस्तै प्रमुख जिल्ला अधिकारी केदार नाथ शर्माले खोपआफैमा महत्वपूर्ण रहेको बताए । उनले यो कार्यक्रम सफल पार्नका लागि लाग्नु हुने सम्पुर्णलाई आभार ब्यक्त गरे । बालबालिकालाई उपलब्ध गराउने सबै खोप पाएकाले जिल्ला घोषणा गरेको बताए । नेपाल सरकाले लगानी गरेको खोप कार्यक्रम रहेकोले सबैले प्रभावकारी रुपमा सफल पार्नु पर्ने बताए ।
त्यस्तै पातारासी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाले स्वास्थका क्षेत्रलाई अझै प्रथामिकता दिन अनुरोध गरे । उनले पछिल्लो समयमा स्वास्थका क्षेत्रका गलत प्रथा अझै कायम रहेकोे बताए । उनले महिला स्वास्थ स्वयम् सेविकालाई गाउघरको गलत अभ्यासको पक्षमा नभई बिज्ञानको पक्षमा लाग्न अनुरोध गरे । पुर्ण खोप घोषणा गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रमको अन्त्यमा जुम्ला जिल्लालाई औपचारिक रूपमा “पूर्णखोप सुनिश्चित जिल्ला” घोषणा गरिनुका साथै यसको दिगोपन कायम गर्न सबै सरोकारवालाहरूले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।