अबको २०–२५ वर्षपछि बुढो हुन्छु, एमालेमा कसैले हतार नगर्नू :प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू विनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन् । उनले भने, ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु ।
कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन ।’ केपी ओलीविनाको एमाले किन खोजेको होला भन्दै प्रश्न गरेका छन् ? उनले भनेका छन्, ‘तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’ अध्यक्ष ओलीले राणा शासन, पञ्चायत र निरंकूश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिकारूपमा स्थापित भएको पार्टी एमाले भएका पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको अवगत गराउँदै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मित्रता रहेको स्पष्ट गरे ।