लोप हुदैं धानका सिरौला


जुम्लामा धानका सिरौंला भेटिन छाडेका छन । बाहिराबाट प्रसस्त चिउरा आउने भएकोले सिरौंका कुटन छाडेका छन । मार्सीधानको क्यालेन्डर अनुसार चैत १६ गते हरेक जुम्लीको घरमा धानको सिरौंला कुट्ने चलन छ । तर पछिल्लो समयमा मार्सीधानको खेती कम हुन थालेपछि सिरौंला पनि पाइन छाडेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले धानको सिरौंला पाइन छाडेको बताए । सिरौंला कुटेर चन्दननाथ भैरवनाथ मन्दिरमा चढाएपछि छोरीचेलीलाई न्वागीको रुपमा दिने प्रचलन छ ।

फाट्टफुट्ट सिरौंला कुट्ने गरेको भेटिएपनि पहिले जस्तो चलन नरहेको उनले बताए । पहिले बजारमा चिउरा पाउँदैनथ्यो । चैत १६ गते कुटेको सिरौंला जेठ÷असारसम्म राखिन्थ्यो । अहिले विभिन्न ब्राण्डका ताजा चिउरा बजारमा प्रशस्त पाइने भएकोले सिरौंला कुट्न किसान चाहदैनन् ।

यहाँका परम्परागत हरेक आगनमा ओखल र मुसल राखिएको हुन्थ्यो । अहिले कंक्रिटका घर बनेपछि ओखलको प्रयोग पनि घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार कुल २ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ९५० हेक्टर मात्र मार्सीधानले ओगटेको छ । भिजाएर उतारेको धानलाई भोजपत्र, राडीपाखी, सल्लाका पात बेरेर भान्साको एक कुनामा न्यानो गरेर राख्ने गरिन्छ । त्योसँगै हरेक विहान, बेलुकी चिसोपानी छर्किने गर्दा मार्सीको बीउ अंकुराउन थाल्छ ।

यसरी अंकुराएको बीउ चैत २० गते बेर्नामा लगेर छरिन्छ । धानको सिरौंला कुट्ने चलन लोप भएको र पहिचान बचाउन मात्रै मार्सीको खेती गर्दै आएका छन । अहिले मार्सीको सिरौंला कुट्न मात्र छोडिएको छैन धानको क्यालन्डेर समेत प्रभावित हुने गरेको उनले बताए ।

मार्सीको रोपाइँमा समेत आयतित चिउराको प्रयोग हुन थालेको छ । कृषि विकास कार्यालयले मार्सीधान संरक्षणका लागि पकेट क्षेत्र घोषणा गर्ने, निरोगी बीउ वितरणदेखि खेती प्रवद्र्धनको लागि छलफल चलाउने गरिएको छ ।

सम्बन्धित समाचार