ललितपुरबाट अपहरण परेका बालकलाई पञ्जाब लाने तयारी थियो

काठमाडौं । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ ।

अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको एक अनुसन्धान अधिकृतले बताए । त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको प्रहरीको भनाइ छ ।ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेका थिए । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो ।

अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो ।

भारतबाट नेपाल आएपछि उनी स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका थिए । ठमेलेस्थित एक होटलमा एक हप्ता बसे । ठमेलको होटलमा एक हप्ता बसेपछि उनी बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलबा बसेको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

काठमाडौंमा ठाउँ फेरि फेरि बसेका उनी स्वयम्भू, बौद्ध, कपन लगायत गुम्बाहरुमा लामा भासा सिक्न भन्दै जाने समेत गरेका थिए । घुमफिरमा भने उनी अक्सर ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेको पाइएको छ ।

२५ माघको बिहान साढे १० बजेतिर काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बबरको बसको सिटी ‘बी’ को ३ र ४ नम्बरको टिकटसमेत उनले बुकिङ गरेका थिए । बस चढेर वीरगञ्ज जान भन्दै उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए ।

प्राविधिक अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएर प्रहरीले गेस्टहाउसमा छापा मारेर बालकलाई उद्धार गर्नुका साथै भियतनामी नागरिकलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा उपचार गराई अवस्था सामान्य रहेको खुलेपछि परिवारको जिम्मा लगाइएको छ ।

यता पक्राउ परेका भियतनामी नागरिकले भने बालकलाई वीरगञ्ज हुँदै पञ्जाबसम्म लैजान लागेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।घुमफिर गर्ने क्रममा गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा हाल अपहरणमा परेका बच्चाको दाइसँग भेट भई भियतनामी नागरिकले कुराकानी गरेको प्रहरी अधिकारीको भनाइ छ । त्यसपछि चिप्स, चकलेटहरु खरिद गरेर बच्चाहरुलाई दिइ आफूतर्फ आकर्षित गरेको प्रहरीको भनाइ छ ।

अपहरण गरेपछि ती बालकलाई उनले ट्याक्सीमा चढाई लगेको कलंकी लगेको पाइएको छ । पाटन कृष्ण मन्दिरबाट इनड्राइभमाफृत ट्याक्सी बुक गरेर झम्सीखेलसम्म पुगेको र त्यहाँबाट अर्को ट्याक्सी लिएर सुन्धारा गएर श्री गुरु होटलमा बसेको देखिएको छ’, एक अनुसन्धान अधिकृलते भने । त्यहाँबाट उनी कलंकी पुगेका थिए ।

पक्राउ परेका भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।

सम्बन्धित समाचार