नमोनारायणलाई पार्टीमा भित्र्याएर ग्रामथानमा माओवादीले निकालेको सरप्राइज जित

काठमाडौं । अघिल्लो पटक नेपाली कांग्रेसका उमेदवार अध्यक्षमा निर्वाचित भएको मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका छन् ।

घिल्लो चुनावमा नेपाली कांग्रेसले जितेको मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मतदानको परिणामअनुसार माओवादीका माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । ६ हजार ९ सय ६९ मतका साथ माझी गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार सरकार थारू ५ हजार ३ सय ३३ मतका साथ दोस्रो भए ।

तेस्रो भएका एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत पाए । २०७९ मा तेस्रो भएको माओवादी केन्द्रले उल्टाएको हो ।

गाउँपालिकाको कामकाजलाई लिएर विरोध गरेका माझीले केही समयअघि अभद्र व्यवहारको मुद्दा समेत खेपेका थिए । उनै माझी अध्यक्षमा एमाले र कांग्रेसका उम्मेदवारलाई पाखा लगाउँदै निर्वाचित भएका हुन् । माझी ६ हजार ९ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत ल्याउँदा नेकपा ९एमाले० का उम्मेदवार तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए ।

केही समयअघि ग्रामथानको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराएर गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

ग्रामथानमा कांग्रेस, एमाले र माओवादीका केन्द्रीय तहका अधिकांश नेताहरूको सम्पूर्ण शक्ति लगाएका थिए । एमाले, कांग्रेसका कोशी प्रदेशदेखि संघीय राजनीतिमा उच्च ओहोदामा रहेका नेताहरूसमेत राम्रो जोडबलमा थिए ।

चुनाव हुनु एक महिनाअघि नै माझीलाई अघि सारेको थियो माओवादीले । माओवादीका नेता अमनलाल मोदीको प्रभावसँगै माझीको व्यक्तिगत छविकै कारण उनले जित्ने दाबी माओवादी नेताहरूको थियो । माझीलाई जनजीविकाको मुद्दामा बोल्ने खरो व्यक्तिको रूपमा देखाउँदै मोदीलाई समेत जोडेर माओवादीले चुनावी प्रचार घनिभूत बनाएको थियो ।

को हुन् माझी ?

मोरङको ग्रामथानका परिचित अनुहार नमोनारायण माझीको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको थियो । २०४५ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा होमिएका थिए ।

उनको पहिलो निर्वाचन यात्रा २०५४ सालमा सुरु भयो । कांग्रेसबाट लखन्तरी गाविसको अध्यक्षको रूपमा माझी चुनाव उठेका थिए । दुई मतको अन्तरले जित हासिल गरेका उनी माओवादी द्वन्द्वकालमा विदेश पलायन भएको माझी स्वयं बताउँछन् । मलेसिया र दुबईमा ११ वर्षको बसाइपछि स्वदेश फर्किएर उनले पुनः राजनीतिक यात्रा थाले ।

२०७४ मा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा उम्मेदवारी दिए । ग्रामथान वडा नं। १ को अध्यक्षमा निर्वाचित भएपछि उनको राजनीति पुनस् अघि बढ्यो । २०७९ मा पालिका अध्यक्षको दौडमा स्वतन्त्र उम्मेदवारको रूपमा उत्रिएर तेस्रो स्थान हासिल गरे । हाल माओवादी केन्द्रमा माझीले भदौ २९ गते करिब एक हजारभन्दा बढी कार्यकर्तासहित पार्टी प्रवेश गरेका थिए ।