काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेट भएको छ ।
अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जाने क्रममा जहाजमा उनीहरूबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको हो ।
‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ,’ उनीहरूबीच भएको कुराकानीलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए ।