काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला अदालतका श्रेस्तेदार राम शर्माले जानकारी दिए।
आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ झिकाएको हो।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्।