जुम्ला : स्वास्थ्य सेवा प्रवाहमा सिंजा गाउँपालिका प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गरेको समिक्षा कार्यक्रममा सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रथम हुन सफल भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको मूल्यांकन प्रतिवेदनको आधारमा सिंजा गाउँपालिका प्रथम भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार समिक्षा कार्यक्रममा ३२ वटा सुचकहरुको आधारमा सिँजा प्रथम भएको छ । उनका अनुसार सवै स्थानीय तहका स्वास्थ्य शाखाले राम्रो काम गरेका छन् तर थोरै मुल्यांकनको आधारमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम भईरहेको छ ।
उहाँका अनुसार विभिन्न ३२ सूचकको समग्र मुल्यांकनमा सिंजा ८७ प्रतिशत, चन्दननाथ नगरपालिका ८४ प्रतिशत, कनकासुन्दरी गाउँपालिका ८१ प्रतिशत, हिमा गाउँपालिका ७६.५ प्रतिशत, तातोपानी गाउँपालिका ७०.५ प्रतिशत रहेको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार आईतवार र सोमवार दुई दिन कार्यालयको बार्षिक प्रगति सहितको समिक्षा र कार्ययोजना तयार पारिएको छ । पहिलो दिन स्थानीय स्वास्थ्य शाखा प्रमुखहरुले आ–आफ्नो स्थानीय तहमा भएका कामको प्रस्तुतीकरण गरेका छन् ।
समिक्षामा कार्यक्रम सम्वन्धी पहिलो दिन प्रस्तुतिकरण सम्वन्धी समस्या चुनौति र समाधानका उपायमा छलफल भयो । यसैगरी पालिकाहरुको गरिरहेका कामको मूल्यांकनमा ३२ वटा सुचकको आधारमा मुल्यांकन तथा आगामी बर्षको कार्ययोजना समेत बनाईएको छ । स्वास्थ्य सेवालाई थप राम्रो गर्ने उद्देश्यका साथ क्रियाशिल रुपमा काम गर्ने प्रयास समेत भएको हो ।
सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमहरु सम्पादन तथा व्यवस्थापनमा प्रथम भई प्रशंसा पत्र समेत प्राप्त भएको बताए । उनका स्वास्थ्यको सो मूल्यांकनमा सिंजा गाउँपालिका स्वास्थ्य शाखा आर्थिक बर्ष २०७९।०८० र २०८१।२०८२ मा प्रथम भएको छ ।