काठमाडौँ । बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूबिच मोर्चा पुनर्गठनबारे प्रारम्भिक छलफल भएको हो ।
प्रधानमन्त्रीबाट बाहिरिने अवस्थामा पुगेका प्रचण्डले बुधबार मोर्चाबारे छलफल गरेका हुन् । जब कि फागुनमा एमालेसँग सत्तागठबन्धन गरेका प्रचण्डले मोर्चाबारे सोधिखोजी गरेका थिएनन् ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेताहरूबिचको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको र अन्य नेताहरूले आफ्ना धारणा राखेको बताए ।
‘आजको मोर्चाको बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो । त्यसपछि अन्य नेताहरूले पनि धारणा राख्नुभयो । त्यसपछि मोर्चाको पुनर्गठनबारे प्रारम्भिक छलफल भनिएको छ, अर्को मिटिङसम्म टुंगो लाग्छ’, मल्लले भने ।
२८ गते प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिदै छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रचण्डको पक्षमा बुहमत पुग्ने अवस्था देखिदैन । प्रतिपक्षमा पुगेका प्रचण्डले पुनः मोर्चालाई सक्रिय पार्न थालेका छन् । मोर्चामा रहेको जसपा विभाजन भएको छ । जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्डको हात रहेको भन्दै अध्यक्ष उपेन्द्र यादव सरकारबाट पहिला नै बाहिरीसकेका छन् । आजको बैठकमा पनि यादव सहभागी भएनन् ।